काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएसँगै देशभरका मतदान स्थलबाट मतपेटिका सङ्कलन कार्य तीव्र रूपमा भइरहेको छ । मतदान सम्पन्न भएलगत्तै मतपेटिका शिल गरी गणनाका लागि निर्वाचन क्षेत्रमा पुर्याउने काम जारी छ । मतगणना १६५ निर्वाचन क्षेत्रअन्तर्गत निर्वाचन अधिकृतको कार्यालयमा नै हुने भएको छ ।
निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फको मतगणना सम्बन्धित निर्वाचन क्षेत्र मातहतका मतदान स्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन भएपछि सुरु गरिनेछ । मतगणना सुरु हुनुअघि जिल्ला तथा निर्वाचन क्षेत्रस्तरमा सर्वदलीय बैठक बस्ने व्यवस्था छ । आयोगले प्रत्यक्षतर्फको मतपरिणाम गणना सुरु भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने योजनाका साथ काम गरिरहेको जनाएको छ ।
प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएपछि समानुपातिकतर्फको मतगणना सुरु हुनेछ । मतपेटिका सङ्कलन तथा गणना प्रक्रियालाई पारदर्शी, व्यवस्थित र शीघ्र बनाउन निर्वाचन आयोग तथा स्थानीय प्रशासनले आवश्यक समन्वय गरिरहेका छन् । दुर्गम तथा पहाडी जिल्लाहरूबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत र अन्य स्थानबाट सवारी साधनमार्फत मतपेटिका सङ्कलन भइरहेको छ ।
मतदान शान्तिपूर्ण तथा उत्साहजनक रूपमा सम्पन्न भएको र कुनै ठूलो घटना नभएको प्रहरी तथा आयोगले जनाएको छ । मतगणना प्रक्रिया सुरु भएपछि प्रारम्भिक परिणामहरू क्रमशः सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार











प्रतिक्रिया