जनकपुरधाम। धनुषा निर्वाचन क्षेत्र नं १ मा मतगणना सुरु हुन सकेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भए पनि मतपत्रमा रहेको घन्टी चिह्नमा परेको मतलाई सदर वा बदर मान्ने विषयमा विवाद उत्पन्न भएको छ ।

मुख्य निर्वाचन अधिकृत मनोज बरालका अनुसार रास्वपा उम्मेदवारको मनोनयन फागुन १८ गते निर्वाचन आयोगले खारेज गरेको थियो । सो निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । यद्यपि मतपत्र छापिएर मतदान भइसकेकाले घन्टी चिह्नमा परेको मतलाई कसरी गणना गर्ने भन्ने अन्योल सिर्जना भएको हो ।

advertisement

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार राति नै निर्वाचन आयोगलाई पत्र लेखेर सो मतको व्यवस्थापनबारे निर्देशन माग गरेको छ । अधिकृत बरालले भने, “रास्वपा उम्मेदवारको मनोनयन खारेज गरिएको छ । तर मतपत्रमा घन्टी चिह्न छँदैछ । त्यो चिह्नमा लगाइएको स्वस्तिकलाई के गर्ने भन्ने विषयमा हामीले आयोगलाई पत्र लेखेका छौं । आज बिहान १० बजेसम्म सो पत्रबारे आयोगको निर्णय आउँछ, त्यसपछि हामी मतगणना अगाडि बढाउँछौं ।”

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साह कमलसँगै अन्य उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन् । मतदान सम्पन्न भए पनि घन्टी चिह्नको मतको वैधानिकताबारे आयोगको स्पष्ट निर्देशन नआउँदासम्म गणना प्रक्रिया अघि बढ्न नसक्ने अवस्था छ ।

यो विवादले निर्वाचन प्रक्रियामा थप जटिलता थपेको छ । मतगणना स्थगित हुँदा मतदाता तथा राजनीतिक दलहरूबीच चासो बढेको छ । निर्वाचन आयोगबाट आउने निर्णयले मात्र यो मुद्दाको निकास दिनेछ ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com