काठमाडौं। महोत्तरी निर्वाचन क्षेत्र नं १ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रमोदकुमार यादवले दोब्बरभन्दा बढी मतान्तरसहित स्पष्ट अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणामअनुसार यादवले ३ हजार ५४७ मत प्राप्त गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेलले १ हजार ६२० मतसहित दोस्रो स्थानमा छन् । नेकपा एमालेकी लक्ष्मी महतो कोइरीले ७०३ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसका मुकेशराज काफ्लेले ५१७ मत ल्याएका छन् । श्रमसंस्कृति पार्टीकी लिला दियालीले १७६ मत र राप्रपाका होमप्रसाद पोखरेलले १५४ मत प्राप्त गरेका छन् ।
मतगणना क्रममा रास्वपाका यादवले लगातार अग्रता बढाइरहेका छन् । मतदानमा उत्साहजनक सहभागिता रहेको र मतगणना शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ ।
महोत्तरी–१ मा यो पटकको निर्वाचन निकै रोचक बनेको छ । रास्वपाका यादवले दोब्बर मतान्तरसहितको अग्रताले क्षेत्रमा नयाँ शक्तिको प्रभावलाई प्रष्ट पारिरहेको छ । मतगणना सम्पन्न भएपछि विजेता औपचारिक रूपमा घोषणा गरिनेछ ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया