काठमाडौं । बुद्ध एयरका संस्थापक वीरेन्द्र बहादुर बस्नेत ले गतिशील लोकतान्त्रिक पार्टी परित्याग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको वक्तव्यमा उनले वर्तमान राजनीतिक संस्कार आफ्नो मूल्य–मान्यता र आत्मासँग मेल नखाएकाले पार्टीबाट अलग हुने निर्णय गरेको बताएका हुन्।
बस्नेतले गत भदौ २३ र २४ गते देशभर उठेको जनआन्दोलनबाट प्रभावित भई आफू राजनीतिमा प्रवेश गरेको उल्लेख गरेका छन्। भ्रष्टाचार, बेरोजगारी, गरिबी, शोषण र बेथितीविरुद्ध भएको उक्त आन्दोलनमा ७६ जना युवाले ज्यान गुमाएको घटनाले आफूलाई गहिरो रूपमा प्रभावित बनाएको उनले बताएका छन्। ती युवाहरूले देखेको सुशासन, समान अवसर, सम्मानजनक रोजगारी र समतामूलक समाजको सपना साकार पार्ने उद्देश्यले आफू राजनीतिमा होमिएको र त्यसक्रममा पार्टीको केन्द्रीय सदस्य बनेको उनको भनाइ छ।
तर पछिल्लो समय दल र पदको सीमाभित्र रहेर आफ्नो अनुभव, क्षमता र देशप्रतिको समर्पणअनुसार योगदान दिन नसकिने निष्कर्षमा पुगेपछि पार्टी छोड्ने निर्णय गरेको बस्नेतले स्पष्ट पारेका छन्। उनले अब राजनीतिक दलभन्दा बाहिर रहेर स्वतन्त्र नागरिकका रूपमा समाजसेवामा सक्रिय रहने बताएका छन्।
आगामी दिनमा आफ्नो समय, ऊर्जा र सीपलाई विश्लेषण, संवाद, समाधान र सिर्जनात्मक काममा केन्द्रित गर्ने योजना रहेको उनले उल्लेख गरेका छन्। विशेषगरी स्थानीय तथा प्रदेश सरकारको सक्षम व्यवस्थापन, दिगो पर्यटनको विकास, व्यवसायमुखी कृषि र गुणस्तरीय माध्यमिक शिक्षालाई दिगो रोजगारी र समतामूलक समृद्धिको आधार बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
बस्नेतले पार्टीप्रति आभार व्यक्त गर्दै गतिशील लोकतान्त्रिक पार्टी ले आफ्नो सिद्धान्त र एजेन्डाप्रति प्रतिबद्ध रहोस् भन्ने शुभकामना दिएका छन्। साथै अन्य सबै लोकतान्त्रिक राजनीतिक दलहरूलाई पनि उनले सफलताको कामना गरेका छन्।
उनले अब आफू स्वतन्त्र र जिम्मेवार नागरिकका रूपमा समाजसेवी अभियानमार्फत् देशको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया