काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनमा बहुमततर्फ अग्रता कायम गरेपछि जनताले ठूलो अपेक्षा र जिम्मेवारी दिएको बताएको छ । पार्टीका प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनेका छन्, “हाम्रो उद्देश्य देशमा सकारात्मक परिणामसहितको परिवर्तन हो । हामीले अझै धेरै मेहनत गर्नुपर्नेछ । नेता हैन, सहजकर्ता भएर खट्नु छ । जनताले हामीलाई ठूलो अपेक्षासहित मतादेश र जिम्मेवारी दिएको छ । तसर्थ परिवर्तनकारीहरू सबै थप सभ्य र अनुशासित रहन आवश्यक छ ।”
प्रवक्ता झाले पार्टीपंक्तिलाई थप संयमित, उदार र जिम्मेवार हुन आग्रह गरेका छन् । उनले भने, “हाम्रो दुस्मन त देशमा रहेको भ्रष्टाचार, गरिबी र कुशासन हो । उम्मेदवार र दलहरू त लोकतान्त्रिक प्रक्रियाको केवल प्रतिस्पर्धी मात्र हुन् । सबैको अस्तित्वप्रति सम्मान राख्दै हामी थप संयमित, उदार र जिम्मेवार हुनुपर्छ । सबैमा अनुरोध ।”
रास्वपाले निर्वाचनमा प्राप्त जनमतलाई सकारात्मक परिवर्तन र सुशासनको लागि आधार मानेको छ । पार्टीले मतदाताको अपेक्षा पूरा गर्न थप मेहनत र अनुशासनका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ ।
प्रारम्भिक मतपरिणाममा रास्वपाले धेरै क्षेत्रमा अग्रता कायम गरेको छ । मतगणना जारी रहँदा पार्टीले यो जनमतलाई देशमा सुधार र स्थायित्व ल्याउने अवसरका रूपमा लिएको छ ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया