काठमाडौं । प्रदीप पौडेलले आफूलाई पराजित गर्दै काठमाडौँ–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सस्मित पोखरेललाई बधाई दिएका छन्।
काठमाडौँ–५ मा भएको मतगणनाको अन्तिम परिणामअनुसार पोखरेल ३० हजार ७३७ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महामन्त्री पौडेलले ९ हजार १५९ मत प्राप्त गरेका थिए।
शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै पौडेलले पोखरेललाई हार्दिक बधाई दिएका छन्। साथै निर्वाचनमा आफूलाई साथ र मत दिने सम्पूर्ण मतदाता तथा समर्थकप्रति कृतज्ञता व्यक्त गरेका छन्।
उनले काठमाडौँ–५ का जनताको सुख–दुःखमा निरन्तर साथ रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। ‘काठमाडौँ–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकोमा सस्मित पोखरेलजीलाई हार्दिक बधाई। यस यात्रामा मलाई मत तथा साथ दिनुहुने सम्पूर्णप्रति म कृतज्ञ छु। तपाईंहरूको सुख र दुःखमा म सधैँ साथमै रहनेछु,’ उनले फेसबुकमा लेखेका छन्।
पौडेलले लोकतान्त्रिक प्रक्रियामा सहभागी भई निर्वाचन सफल बनाउन सहयोग गर्ने सम्पूर्ण मतदाता, कार्यकर्ता र सरोकारवालालाई पनि धन्यवाद दिएका छन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया