काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश पराजुलीले जनताले दिएको विश्वासलाई सम्मान गर्दै आफ्नो कार्यकालभरि इमानदारी र जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले हालको निर्वाचन परिणामले नेपाली जनतामा परिवर्तनप्रति गहिरो चाहना रहेको स्पष्ट पारेको बताए। सोही जनअपेक्षालाई केन्द्रमा राखेर आफूले आफ्नो जिम्मेवारी पूरा गर्ने उनले उल्लेख गरे।

advertisement

लोकतान्त्रिक व्यवस्थामा जनताको मत नै सबैभन्दा ठूलो शक्ति हुने बताउँदै पराजुलीले यो जित केवल रास्वपाको मात्र नभई सम्पूर्ण नेपाली जनताको आशा र विश्वासको प्रतिनिधित्व भएको धारणा व्यक्त गरे।

संविधान संशोधनका विषयमा बोल्दै उनले सबै राजनीतिक दल र सरोकारवालालाई सहमतिमा ल्याएर अघि बढ्ने योजना रहेको जानकारी दिए। यसका लागि आवश्यक अध्ययन तथा सुझाव संकलन गर्न कार्यदल गठन गरिने उनको भनाइ छ।

सुशासन स्थापना र प्रभावकारी प्रशासन सञ्चालनलाई प्राथमिकतामा राख्ने उल्लेख गर्दै पराजुलीले देशमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने दिशामा आफूले सक्रिय भूमिका खेल्ने बताए।

प्रदेश संरचनाबारे पछिल्लो समय उठिरहेका बहसप्रति स्पष्ट पार्दै उनले रास्वपाले प्रदेश खारेज गर्ने कुरा कहिल्यै नउठाएको दाबी गरे। तीन तहको संघीय व्यवस्थालाई अझ प्रभावकारी बनाउन प्रदेश संरचनामा आवश्यक सुधार र पुनर्संरचना गर्दै अघि बढ्नुपर्ने उनको धारणा छ।

निर्वाचनमा प्राप्त जनसमर्थनलाई जिम्मेवारीका रूपमा लिँदै पराजुलीले रास्वपाले सरकारको नेतृत्व गर्ने अवसर पाएमा नेपाली नागरिकले देखेका सपनाहरू साकार पार्न आफ्नो पार्टी प्रतिबद्ध रहने बताए।

पराजुली काठमाडौँ क्षेत्र नम्बर ७ बाट २७ हजार ८ सय ५ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com