बुटवल। रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले सफलता हासिल गर्न नसकेपछि जिल्ला नेतृत्वमा असर देखिन थालेको छ ।
सोही क्रममा कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेले आफ्नो पदबाट राजीनामा दिएका छन् । घिमिरेले शनिबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन परिणामको नैतिक जिम्मेवारी लिँदै जिल्ला कार्यसमितिको उपसभापति पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले आफ्नो राजीनामा आजकै मितिदेखि लागु हुने गरी पार्टीसमक्ष पेस गरेको उल्लेख गरेका छन् ।
राजीनामा पत्रमा उनले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा पार्टीले सफलता हासिल गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै आफूले नैतिक जिम्मेवारी लिएको बताएका छन् ।
त्यस्तै, उनले पार्टीले आफूलाई दिएको जिम्मेवारी निर्वाह गर्ने अवसरप्रति आभार व्यक्तसमेत गरेका छन् । आगामी दिनमा पनि पार्टीको सिद्धान्त, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहँदै सक्रिय सदस्यका रुपमा
संगठन सुदृढ बनाउन निरन्तर लागिरहने उनको भनाइ छ ।
घिमिरेले आफ्नो राजीनामा स्वीकृत गरिदिन पार्टी नेतृत्वसँग आग्रहसमेत गरेका छन् ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया