रूपन्देही । नेपाली कांग्रेस रूपन्देहीका उपसभापति थानेश्वर घिमिरेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवार सबै क्षेत्रबाट पराजित भएपछि पदबाट राजीनामा दिएका छन्।
रूपन्देहीका पाँचवटा निर्वाचन क्षेत्रमध्ये कांग्रेसले एक पनि क्षेत्र जित्न नसकेको परिणामप्रति घिमिरेले नैतिक जिम्मेवारी लिँदै उपसभापति पदबाट राजीनामा दिएको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै लेखेका छन्, ‘रूपन्देहीका कुनै पनि निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार विजयी हुन नसकेको र निर्वाचन परिणामप्रति नैतिक जिम्मेवारी लिँदै म नेपाली कांग्रेस रूपन्देही जिल्ला कार्यसमितिको उपसभापति पदबाट आजकै मितिदेखि लागू हुने गरी राजीनामा पेश गरेको छु।’
घिमिरेले पार्टीले आफूलाई दिएको जिम्मेवारी निर्वाह गर्ने अवसरप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि पार्टीको सिद्धान्त, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेर संगठन सुदृढ बनाउन सक्रिय सदस्यको रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
विगतमा घिमिरे २०७९ सालको निर्वाचनमा सियारी गाउँपालिकाबाट कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया