चितवन । चितवन–३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले बालेन्द्र शाह (बालेन) नेतृत्वमा नयाँ सरकार बन्ने बताएकी छन्।
निर्वाचित प्रमाणपत्र ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले चुनावअघि नै पार्टीले बालेनलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै, उनी नै आगामी सरकारको नेतृत्व गर्ने स्पष्ट पारेकी छन्।
गौतमले रास्वपाप्रतिको जनविश्वासलाई वास्तविक नतिजामा परिणत गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्। उनले भनिन्, ‘जनताले अन्तिम आशाका रूपमा रास्वपालाई विश्वास गरेर मत दिएका छन्। यस विश्वासलाई गम्भीरतापूर्वक लिएर अगाडि बढ्छौँ।’
निर्वाचनमा गौतमले ५९ हजार २७७ मत प्राप्त गर्दै विजयी भएकी हुन्, जुन अहिलेसम्मको सर्वोच्च मतसंख्या हो। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहालले २० हजार ६१५ मत ल्याएकी थिइन्।
यसरी गौतम र दाहालबीचको मतान्तर ३८ हजार ६६२ रहेको छ, जसले चितवन–३ मा रास्वपाको दबदबा झल्काएको छ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया