जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन्। यससँगै राप्रपाले यसपटकको निर्वाचनमा जितको खाता खोलेको छ।
शनिबार (फागुन २३) दिउँसो सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार शाहीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार नरेश भण्डारीलाई २ हजार ९४२ मतान्तरले पराजित गर्दै जीत हासिल गरेका हुन्। शाहीले कुल १४ हजार ६५ मत प्राप्त गरेका छन् भने भण्डारीले ११ हजार १२३ मत ल्याएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाही ६ हजार ६६४ मतसहित तेस्रो स्थानमा रहेका छन्। त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार शान्तीलाल महतले ४ हजार २८८ मत प्राप्त गर्दै चौथो स्थानमा सीमित भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विनीता कठायतले ३९८ मत मात्र प्राप्त गरिन्। कुल मतको १० प्रतिशत पनि प्राप्त गर्न नसकेपछि उनको जमानत जफत भएको छ। कठायत यसअघि समानुपातिक प्रणालीबाट सांसद बनेकी थिइन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया