काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आज अपरान्ह संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति हिज हाइनेस शेख मोहमद बिन जायद अल नाह्यानसँग टेलिफोन संवाद गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले पवित्र रमजानको अवसरमा शान्ति, न्याय र सद्भावको लागि हार्दिक शुभकामना व्यक्त गरिन् । संवादका क्रममा प्रधानमन्त्री कार्कीले युएईको सार्वभौम क्षेत्रमा नागरिक पूर्वाधारलाई समेत लक्षित गरी गरिएका आक्रमणहरूको निन्दा गर्दै यस विषम परिस्थितिमा संयुक्त अरब इमिरेट्सलाई नेपालका तर्फबाट ऐक्यबद्धता व्यक्त गरिन् ।

advertisement

प्रधानमन्त्री कार्कीले यस परिस्थितिमा सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयम अपनाउन, तनावलाई थप नबढाउन र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह पनि गरेकी छिन् ।

युद्ध कहिल्यै शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै उनले कूटनीति र संवादको माध्यमबाट मात्र दिगो शान्ति सम्भव हुने बताइन् । नेपालले परिस्थिति सकेसम्म चाँडो सामान्य अवस्थामा फर्कने अपेक्षा पनि व्यक्त गरिन् ।

उनले सार्वजनिक सुरक्षा सुनिश्चित गरेकोमा र त्यहाँ काम गर्ने तथा बसोबास गर्ने नेपाली नागरिकहरू सहित सबै बासिन्दा, आगन्तुक र ट्रान्जिटमा रहेका मानिसहरूको समान रूपमा हेरचाह गरेकोमा युएई सरकारप्रति हार्दिक आभार व्यक्त गरिन् । १ मार्च २०२६ मा जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीको क्रममा एक नेपाली नागरिकले आफ्नो अमूल्य जीवन गुमाएको थाहा पाउँदा आफूलाई धेरै दुःख लागेको बताइन् । साथै ५ मार्च २०२६ मा अबुधाबीको आईसीएडी क्षेत्रमा २ जना नेपाली घाइते भएको जानकारी पाउँदा चिन्ता लागेको बताइन् ।

उक्त अवसरमा प्रधानमन्त्री कार्कीले शान्ति र विकासलाई प्रवर्द्धन गर्न क्षेत्रीय तथा वैश्विक कूटनीतिक प्रयासहरुमा गरेको निरन्तर योगदानप्रति युएईका राष्ट्रपतिको कुशल नेतृत्वको उच्च प्रशंसा पनि गरिन्।

आगामी वर्षहरूमा आर्थिक साझेदारी र जनता-जनताबीचको सम्बन्धलाई थप बलियो बनाउँदै हाम्रो द्विपक्षीय सम्बन्ध थप विस्तारित र सुदृढ हुँदै जाने विश्वास पनि उनले व्यक्त गरिन्।

उनले महामहिम राष्ट्रपति, युएई सरकार र युएई जनतालाई यस क्षेत्रमा दिगो शान्ति सुनिश्चित गर्न सफलता मिलोस् भनी नेपालको तर्फबाट शुभकामना व्यक्त गरिन् ।

टेलिफोन संवादका क्रममा उनले यो अवस्था लामो समयसम्म रहने छैन र यसले अन्ततः नयाँ कूटनीतिको लागि ठाउँ उपलब्ध गराउनेछ भन्ने विश्वास व्यक्त गर्दै नेपाल वर्तमान तनावको प्रत्यक्ष पक्ष नभए पनि यसको परिणाम भोगिरहेको बताइन् ।

उनले तत्कालको लागि नेपाली नागरिकहरूको सुरक्षा चिन्ता र दीर्घकालीन रुपमा बढ्दो इन्धन मूल्य, लगानी प्रवाहमा संकुचन र बढ्दो मुद्रास्फीति सहित व्यापक आर्थिक दबाबहरूको सामना गरिरहनुपरेको बताइन् । ट्रान्जिटमा रहेका यात्रुहरू बिस्तारै नेपाल वा तेस्रो देशहरूमा आ-आफ्ना गन्तव्यहरूमा सुरक्षित रूपमा प्रस्थान गर्न सक्ने कुरामा पनि उनले विश्वास व्यक्त गरिन् ।

युएईका राष्ट्रपतिले यस विषम परिस्थितिमा नेपालले एक असल मित्रराष्ट्रको रुपमा प्रस्तुत गरेको ऐक्यबद्धता र सहानुभूतिप्रति युएईको तर्फबाट प्रधानमन्त्री कार्कीलाई धन्यवाद व्यक्त गरे।

उनले एक जना नेपालीले ड्युटीमा रहेका बखत २०२६ मार्च १ मा जायद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनामा परी ज्यान गुमाउनुपरेकोमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरे । उनले नेपाल र युएईबीच कायम रही आएको सुमधुर र मित्रवत् सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै नेपालीहरुको मेहनती बानी र असल आचरणको प्रशंसा गरे ।

यसका साथै संवादका क्रममा युएईका राष्ट्रपतिले दुवै मुलुकका राजदूतहरुले नेपाली नागरिकको सुरक्षा तथा हित संरक्षणका लागि सक्दो प्रयास गरिरहेको बताए । साथै नेपालीहरुको सुरक्षाको प्रत्याभूतिका लागि सबै किसिमको पहल गर्न आफू तत्पर रहेको कुरा पनि व्यक्त गरे ।

यसबीचमा केही नेपाली नेपाल फर्कन चाहेको आफूले जानकारी पाएको उल्लेख गर्दै उनले परिस्थिति सहज भएपछि सहजीकरणका लागि सबै किसिमको सहयोग उपलब्ध गराइनेसमेत उल्लेख गरे । प्रधानमन्त्री सुशीला कार्की र युएईका राष्ट्रपति शेख मोहमद बिन जायद अल नाह्यानबीचको कुराकानी सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com