पोखरा । नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले हालैको निर्वाचन परिणामले मुलुकमा नयाँ प्रकारका राजनीतिक चुनौती सिर्जना गर्न सक्ने बताएका छन्।
लमजुङबाट प्रतिनिधिसभा सदस्य पदमा पराजित भएपछि शनिबार प्रतिक्रिया दिँदै उनले नयाँ शक्तिहरूले दुईतिहाइ बहुमत नजिकको समर्थन प्राप्त गर्ने सम्भावना देखिएको उल्लेख गर्दै त्यसले देशका लागि जटिल परिस्थिति निम्त्याउन सक्ने चिन्ता व्यक्त गरे।
गुरुङले जनताबाट प्राप्त समर्थनलाई जिम्मेवारीपूर्वक र दूरदर्शिताका साथ प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए। संविधान संशोधनको विषयमा स्पष्ट प्रतिबद्धता सार्वजनिक गर्नुपर्ने बताउँदै उनले संघीयता, समावेशी निर्वाचन प्रणाली तथा अन्य संवैधानिक संरचनाबारे नयाँ शक्तिहरूको धारणा स्पष्ट हुनुपर्ने धारणा राखे।
‘यदि राष्ट्रिय सहमतिबिनै बलपूर्वक निर्णयहरू अघि बढाइए भने देश पुनः द्वन्द्वतर्फ धकेलिन सक्ने जोखिम रहन्छ,’ उनले चेतावनी दिए।
यसपटकको निर्वाचनमा मतदाताले ठोस एजेन्डाभन्दा ‘नयाँ’ भन्ने भावनालाई प्राथमिकता दिएको उनको टिप्पणी छ। उनले भने, ‘हरेक निर्वाचनमा राष्ट्रियता, विकास, सुशासन र संविधान कार्यान्वयन जस्ता मुद्दामा स्पष्ट बहस हुनुपर्छ। तर यसपटक ती विषयमा गम्भीर छलफल भएन, नयाँको नाम मात्र पर्याप्त हुँदैन।’
गुरुङले संविधानको प्रभावकारी कार्यान्वयन र राष्ट्रिय महत्वका विषयहरूमा सबै राजनीतिक दलबीच सहमति कायम गरेर मात्र निर्णय लिनुपर्नेमा जोड दिए।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया