पोखरा । नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले हालैको प्रतिनिधिसभा निर्वाचनको परिणामले मुलुकमा नयाँ राजनीतिक चुनौती उत्पन्न हुन सक्ने बताएका छन्।
लमजुङबाट प्रतिनिधिसभा सदस्य पदमा पराजित भएपछि शनिबार प्रतिक्रिया दिँदै उनले सम्भावित दुईतिहाइ बहुमतको परिस्थिति देशका लागि चिन्ताजनक हुन सक्ने टिप्पणी गरे। ‘उहाँहरूको दुईतिहाइ बहुमत आउला जस्तो देखिन्छ, जुन हाम्रो मुलुकका लागि समस्या बन्न सक्छ,’ उनले भने।
गुरुङले मतदाताबाट प्राप्त जनसमर्थनलाई जिम्मेवारीपूर्वक र दूरदर्शिताका साथ प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए। संविधान संशोधनजस्ता संवेदनशील विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताउँदै उनले संघीयता, समावेशी निर्वाचन प्रणाली तथा अन्य संवैधानिक व्यवस्थाबारे नयाँ शक्तिहरूको दृष्टिकोण प्रष्ट हुनुपर्ने बताए।
‘राष्ट्रिय सहमतिविना बलजफ्ती ढंगले निर्णयहरू अघि बढाइयो भने देश फेरि द्वन्द्वतर्फ धकेलिन सक्छ,’ उनले चेतावनी दिए।
उनले यसपटकको निर्वाचनमा मतदाताले ठोस राजनीतिक एजेन्डाभन्दा ‘नयाँ’ भन्ने भावनालाई प्राथमिकता दिएको टिप्पणी गरे। उनका अनुसार सामान्यतः निर्वाचनमा राष्ट्रियता, विकास, सुशासन र संविधान कार्यान्वयन जस्ता मुद्दामा बहस हुनुपर्ने भए पनि यसपटक ती विषयमा पर्याप्त छलफल हुन सकेन।
गुरुङले संविधानको प्रभावकारी कार्यान्वयन र राष्ट्रिय महत्वका मुद्दामा सबै राजनीतिक दलबीच सहमति कायम गरेर मात्रै निर्णय लिनुपर्नेमा जोड दिएका छन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया