काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने सम्झौताबारे दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको छ । चुनाव जितेपछि सञ्चारकर्मीसँग गरेको छोटो सवालजवाफमा उनले सम्झौताको विवरण आफूलाई पूर्ण रूपमा थाहा नभएको बताएका थिए ।

एक पत्रकारले सोधेका थिए, “बालेन्द्र साह भावी प्रधानमन्त्रीका उम्मेदवार हुनुहुन्छ अहिलेसम्म पनि । सम्झौतामा भनिएको छ, बालेन्द्र साह ५ वर्षका लागि प्रधानमन्त्री हुनेछन् । पार्टी सभापति रवि लामिछानेले सम्हालेछन् भनिएको छ । यो सम्झौतामा कहीँ पनि तलमाथि हुँदैन ?”

advertisement

डीपीले जवाफ दिए, “त्यो सम्झौतामा के लेखिएको छ मैले नै एकचोटि हेर्नुपर्छ । मलाई सबै कण्ठ छैन । तपाईँले भनेको कुरा यदि लेखिएको रहेछ भने त्यसमा जे लेखिएको छ त्यही हुन्छ ।”

पत्रकारले फेरि सोधे, “भनेपछि त्यो सम्झौताभन्दा एक इन्च पनि तलमाथि हुँदैन ?”

डीपीले भने, “त्यो मैले तपाईँसित वाचा गर्नुपर्ने त आवश्यकता देख्दिनँ । पार्टी निर्माण हुँदैछ । पार्टीबाट निर्वाचित भएर नेताहरू आउनु हुन्छ । वरिष्ठ नेता, सभापतिज्यूहरू पार्टीको केन्द्रीय समिति छ, त्यसमा छलफल होला । संसदीय दल बन्छ । त्यहाँबाट हुँदै जाने निर्णयलाई तपाईं हामीले मान्नुपर्छ ।”

यो सवालजवाफमा डीपीको मुख्य आशय सम्झौतामा जे लेखिएको छ त्यही हुन्छ भन्ने थियो । तर उनले सम्झौताको विवरण आफूलाई पूर्ण कण्ठ नभएको र हेर्नुपर्ने बताएपछि रास्वपा समर्थकहरूबीच असन्तुष्टि देखिएको छ ।

वास्तवमा रास्वपा र बालेनबीच गत पुस १३ गते भएको ७ बुँदे सम्झौताको चौथो बुँदामा भनिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र साह हुने ।”

सम्झौतामा बालेनलाई ५ वर्षका लागि प्रधानमन्त्री बनाउने स्पष्ट उल्लेख छैन । त्यसैले डीपीले सिधा ‘हो’ वा ‘होइन’ भनेर जवाफ दिन नसकेका हुन् । रास्वपा नेतृत्व भने बालेनको कार्यकाल ५ वर्ष नै हुनेमा प्रष्ट छ । एक पदाधिकारीले भने, “हाम्रो बुझाइ ५ वर्षकै लागि हो । तर सम्झौतामा स्पष्ट लेखिएको छैन । सरकारले राम्रो डेलिभरी दिए जनता सन्तुष्ट भए बालेनले नै ५ वर्ष चलाउँछन् । नत्र बीचमै परिस्थिति फेरबदल हुन सक्छ ।”

यो अभिव्यक्तिले रास्वपाभित्र प्रधानमन्त्री पदको विषयमा बहस चर्काउने सम्भावना देखिएको छ । पार्टीभित्र बालेनलाई प्रधानमन्त्री बनाउने प्रतिबद्धता कति कडा छ भन्ने प्रश्न पनि उठेको छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com