काठमाडौं । निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम तत्काल घोषणा नगर्ने निर्णय गरेको छ। आयोगले आइतबार सो निर्णय गर्दै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई औपचारिक रूपमा जानकारी गराएको हो।
आयोगका कानून शाखाका अधिकृत अरुण अधिकारीका अनुसार आयोगको निर्णयअनुसार धनुषा–१ को निर्वाचन अधिकृतको कार्यालयलाई परिणाम घोषणा नगर्न पत्राचार गरिएको छ।
यसअघि आयोगले फागुन १८ गते उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। कर्जा सूचना केन्द्रको कालोसूचीमा उनको नाम रहेको प्रमाण फेला परेपछि आयोगले उम्मेदवारी अमान्य ठहर गरेको जनाएको थियो।
उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भई हाल विचाराधीन अवस्थामा रहेकाले अदालतबाट अन्तिम आदेश नआएसम्म धनुषा–१ को ‘पहिलो हुने निर्वाचित हुने’ प्रणालीअन्तर्गतको मत परिणाम सार्वजनिक नगर्न आयोगले निर्देशन दिएको हो।
आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै त्यसको जानकारी आयोगलाई उपलब्ध गराउन प्रदेश निर्वाचन कार्यालयलाई समेत बोधार्थ पत्र पठाइएको जानकारी दिएको छ।

- रासस
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया