काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले देशमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन, एकता र पुनर्जागरणको आवश्यकता औँल्याउँदै त्यसका लागि व्यापक छलफल, संगठन विस्तार र पहल गर्न सबै पक्षलाई आह्वान गरेको छ।
आइतबार बसेको पार्टीको निर्वाचन परिचालन कमिटी र सचिवालयको विस्तारित बैठकले यस्तो निर्णय गरेको कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जानकारी दिएका छन्।
बैठकपछि जारी गरिएको विज्ञप्तिमा हालै सम्पन्न लोकतान्त्रिक निर्वाचनमा सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ। साथै मुलुकमा लोकतान्त्रिक स्थिरता कायम गर्न, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न र जनताको समृद्धिको आकांक्षा पूरा गर्न रास्वपालाई सफलता मिलोस् भन्ने कामना पनि व्यक्त गरिएको छ।
विज्ञप्तिमा भनिएको छ कि कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, यसको भविष्य र पुनर्गठनको आवश्यकता सम्बन्धमा आम जनसमुदाय तथा कार्यकर्ताबीच गहिरो चासो र चिन्ता देखिएको छ। यस्तो अवस्थामा कम्युनिस्ट आन्दोलनको ऐतिहासिक गौरव जोगाउँदै त्यसलाई सुदृढ रूपमा अगाडि बढाउन देशभरका सबै कम्युनिस्ट शक्तिहरू गम्भीर बन्नुपर्ने पार्टीको धारणा छ।
पार्टीले विगतका अनुभवहरूको वस्तुनिष्ठ समीक्षा गर्न, भएका कमजोरीबारे खुला आत्मालोचना गर्न तथा कम्युनिस्ट आन्दोलनको पुनर्गठन, एकीकरण र पुनर्जागरणका विषयमा व्यापक बहस र पहल गर्न सम्बन्धित सबै पक्षलाई हार्दिक अपिल गरेको छ।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया