पर्सा। सामाजिक सञ्जाल टिकटकमा लाखौंको मन जितेका चर्चित टिकटकर मोहम्मद उमर खानले पर्सा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा जम्मा २४० मत मात्र प्राप्त गरेका छन् ।
उमर खानको ‘अफिसियल उमरखान२’ टिकटक आइडीमा ३२ लाखभन्दा बढी फलोअर्स छन् भने उनका भिडियोहरू १ करोड ९४ लाखभन्दा बढी पटक हेरिएका छन् । रोमान्टिक हिन्दी तथा नेपाली गीतहरूमा अभिनय गर्दै, विशेष गरी मेलिना पन्तसँगको जोडीमार्फत उनले ठूलो दर्शकवर्ग बनाएका थिए । तेक्वान्डोमा ४३ स्वर्ण पदक विजेता उमरले चितवनमा मदरसा विद्यालय पनि सञ्चालन गरिरहेका छन् । नेपाली फिल्म ‘होस्टेल ३’ मा भिलेनको भूमिकाबाट अभिनय डेब्यु गरेका उनी कन्टेन्ट क्रिएसन, खेल र सामाजिक कार्यमा सक्रिय छन् ।
राष्ट्र निर्माण दलको तर्फबाट चुनाव लडेका उमर खानको यो नतिजा निकै लज्जास्पद बनेको छ । यो दल पुस १७ गते काठमाडौंमा मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मिया अन्सारीको नेतृत्वमा घोषणा गरिएको थियो । दलले सबै जातजाति, समुदाय र मुस्लिमलाई समेट्ने दाबी गरेको थियो । चुनाव चिह्न पानीको बोतल थियो ।
पर्सा–१ मा रास्वपाका बुद्धिप्रसाद पन्त २७ हजार २७४ मतसहित विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्वमन्त्री प्रदीप यादवले १३ हजार ३० मत पाए । नेपाली कांग्रेसका अनिल रुँगटा तेस्रो भए ।
टिकटकको लोकप्रियताले चुनावी मतमा रूपान्तरण हुन नसकेको यो घटनाले सामाजिक सञ्जालको प्रभाव र वास्तविक राजनीतिक आधारबीचको खाडललाई स्पष्ट रूपमा देखाएको छ । उमर खानको यो परिणामले अनलाइन फ्यान फलोइङ र मतदाता समर्थन फरक–फरक कुरा हुन सक्ने प्रमाणित गरेको छ ।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया