रुपन्देही । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक मतमा भारी अग्रता बनाएको छ। यस क्षेत्रबाट रास्वपाले कुल सदर मतको ६६ प्रतिशतभन्दा बढी प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ।
क्षेत्र नम्बर–२ मा कुल १ लाख ३५ हजार ५० मतदाता रहेका थिए। यसअन्तर्गत ८६ हजार ७१३ मत खसेको थियो, जसमा ८५ हजार ३९६ मत सदर भएका थिए। निर्वाचन कार्यालयका अनुसार रास्वपाले ५६ हजार ७७२ मत प्राप्त गर्दै ६६.४८ प्रतिशत मत हासिल गरेको छ।
प्रत्यक्षतर्फ पनि रास्वपाका उम्मेदवार सुलभ खरेलले ५६ हजार ५५० मत ल्याएर अग्रता कायम राखेका थिए। २०७९ सालको निर्वाचनमा पनि रास्वपाले समानुपातिक मतमा २५ हजार ६७३ मत प्राप्त गरी पहिलो स्थानमा रहको थियो। यस पटक भने रास्वपाले अघिल्लो निर्वाचनको भन्दा दोब्बरभन्दा बढी मत पाएको देखिन्छ।
नेकपा एमालेले समानुपातिक तर्फ १० हजार ८९८ मत पाएको छ, जसले सदर मतको १२.७६ प्रतिशत प्रतिनिधित्व गर्दछ। प्रत्यक्षतर्फ एमालेका विष्णु पौडेलले १२ हजार ८६१ मत ल्याएका थिए। यसले देखाउँछ कि एमालेले समानुपातिक मतमा अघिल्लो निर्वाचनको तुलनामा लगभग आधा मत कम प्राप्त गरेको छ। (अघिल्लो निर्वाचनमा एमालेले २१ हजार १८३ समानुपातिक मत पाएको थियो)
नेपाली कांग्रेसले समानुपातिक तर्फ ८ हजार ४६७ मत प्राप्त गरी ९.९१ प्रतिशत मतदर हासिल गरेको छ। अघिल्लो निर्वाचनमा कांग्रेसले समानुपातिक मतमा १३ हजार ४५० मत ल्याएको थियो।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ हजार ५४७ मत सहित चौथो स्थान पाएको छ भने श्रम संस्कृति पार्टीले २ हजार ३२४ मतसहित पाँचौँ स्थान हासिल गरेको छ।
यस परिणामले रुपन्देही–२ मा रास्वपाको लोकप्रियता र सशक्त स्थिति झल्काएको छ।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया