काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धनुषा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार किशोरी साहले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ।
साहले दिएको रिट न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासमा सुनुवाइ हुने तय भएको हो।
साहले आफ्नो उम्मेदवारी कायम गरिनुपर्ने माग गर्दै आयोगलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। ठेक्कापट्टा व्यवसायबाट राजनीतिमा प्रवेश गरेका धनुषा–१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी कालोसूचीमा रहेको उजुरी परेपछि आयोगले खारेज गरेको थियो।
कर्जा सूचना केन्द्रको वेबसाइटअनुसार ‘किशोर कन्स्ट्रक्सन’का सञ्चालक किशोरीलाल साहलाई २०७९ असोज ३१ र २०८० पुस ६ गते कालोसूचीमा राखिएको उल्लेख छ। यही आधारमा आयोगले निर्वाचन हुनुभन्दा दुई दिनअघि साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो।
यसैबीच धनुषा क्षेत्र नम्बर १ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का रामचन्द्र मण्डल, नेपाली कांग्रेसका राम पलटन साह र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का मातृका प्रसाद यादव उम्मेदवार रहेका छन्।
यस क्षेत्रमा मतगणना सम्पन्न भइसकेको छ। तर अदालतमा मुद्दा विचाराधीन रहेकाले आयोगले हालसम्म मत परिणाम सार्वजनिक गरेको छैन।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया