काठमाडाैं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा बन्ने आगामी सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको स्पष्ट पारेकी छन्।
सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भनिन्, ‘सरकारका राष्ट्र र जनताको पक्षमा हुने प्रत्येक कदममा राष्ट्रिय सभा सहयोगी बन्नुपर्छ, र त्यस्तो भूमिकामा हामी पूर्ण रूपमा खटिनेछौँ। हामीले काम गर्नका लागि सरकारलाई पूरापूर सहयोग गर्नेछौँ।’
सांसद झाँक्रीले सहयोगीसँगै राष्ट्रिय सभा सदस्यको जिम्मेवारीअनुसार सरकारको कामकारबाहीमा ‘वाचडग’ (निगरानी) र खबरदारी गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन्। उनले भनिन्, ‘राष्ट्र र जनताको हितमा काम भइरहँदा हामी सहयोगी हुनेछौँ, तर आवश्यक परेको खण्डमा निगरानी र सचेत गराउने भूमिकामा पनि रहनेछौँ। यो देश र जनताप्रति हाम्रो साझा जिम्मेवारी हो।’
सञ्चारकर्मीले रास्वपाले दुई तिहाइ बहुमतको आधारमा संविधान संशोधनमार्फत राष्ट्रिय सभा खारेज गर्न सक्ने एजेन्डा अघि बढाउने चर्चा गरेसँग सम्बन्धित प्रश्न गर्दा सांसद झाँक्रीले यसलाई व्यक्तिगत मुद्दा नभएको र छलफल हुन सक्ने विषय भएको बताइन्।
उनले थपिन्, ‘संविधानमा उल्लेख भएका अपरिवर्तनीय प्रावधानबाहेक सबै विषय परिवर्तनशील छन्। राष्ट्र र जनताको पक्षमा हुने संविधानसम्मत निर्णयका लागि छलफल आवश्यक परे हुनसक्छ। यस्तो छलफलले भविष्यमा आकार लिन सक्छ, तर त्यो भोलि छलफलकै विषय हो।’
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया