काठमाडौं । सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमल द्वारा दायर रिटमा सुनुवाइ गर्दै निर्वाचन आयोगलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सोमबार जारी आदेशमा उल्लेख गरेको छ कि आयोगले २०८२ फागुन २४ मा पठाएको पत्रअनुसार मत परिणाम घोषणा नगर्न निर्देशन दिइसकेको हुँदा हालसम्म मत परिणाम घोषणा रोकिएको छ।

advertisement

किशोरी साह कमलले उम्मेदवारी खारेजको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरे पनि अदालतले विषयको संवेदनशीलता र गम्भीरतालाई ध्यानमा राख्दै दुवै पक्षको कुरा सुन्नु आवश्यक ठहर गरेको छ। अदालतले आदेशमा भनेको छ, ‘विपक्षी आयोगको मिति २०८२–११–१८ को उम्मेदवारी खारेज गर्ने निर्णयसहितको फाइल पेश गर्न विपक्षीलाई जानकारी गराइ सात दिनभित्र नियमानुसार जवाफ पेश गर्नू।’

अन्तरिम आदेश दिने वा नदिने सम्बन्धमा छलफलका लागि अदालतले आगामी २०८२ फागुन २९ गतेको पेशी तोकेको छ। सो दिन निर्वाचन आयोग र निवेदकबीच छलफलपछि मात्रै आदेशको अन्तिम निर्णय हुनेछ।

किशोरी साहको उम्मेदवारी ठेक्कापट्टा व्यवसायबाट राजनीतिमा प्रवेश गरेकाले र कालोसूचीमा रहेका कर्जा सूचना उजुरी पछि खारेज गरिएको हो। आयोगले फागुन १८ गते उनलाई उम्मेदवारीबाट हटाएको थियो।

धनुषा–१ मा अन्य प्रमुख उम्मेदवारमा नेकपा एमालेका रामचन्द्र मण्डल, नेपाली कांग्रेसका राम पलटन साह, र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मातृका प्रसाद यादव रहेका छन्। मतगणना सम्पन्न भए पनि अदालतमा मुद्दा विचाराधीन रहेकाले निर्वाचन आयोगले अझै मत परिणाम सार्वजनिक गरेको छैन।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com