गोरखा । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा अधिकांश उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसक्दा उनीहरूको जमानत जफत भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल २५ उम्मेदवारमध्ये १९ जनाले सदर मतको १० प्रतिशत ल्याउन नसक्दा जमानत गुमाएका हुन्।
गोरखा निर्वाचन क्षेत्र नम्बर–२ मा कुल ५७ हजार १५६ मत खसेको थियो, जसमध्ये ५४ हजार १४७ मत सदर भएको थियो। जमानत जोगाउन कम्तीमा ५ हजार ४१५ मत आवश्यक पर्ने भए पनि नेकपा (एमाले) का उम्मेदवार मिलन गुरुङ (चक्रे मिलन) ले ३ हजार ८७ मत मात्र प्राप्त गरेपछि उनको जमानत जफत भएको हो।
यसै क्षेत्रमा उज्यालो नेपाल पार्टीका बलराम तामाङले ६३९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कुलबहादुर बस्नेतले २९२, मङ्गोल नेशनल अर्गनाइजेसनका सोमबहादुर गुरुङले २९०, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का टेकबहादुर प्रधानले १३०, नेशनल रिपब्लिक नेपालका प्रसाद गुरुङले १११ मत प्राप्त गरेका छन्।
त्यसैगरी स्वतन्त्र उम्मेदवार चुडाप्रसाद ढकालले ८०, आम जनता पार्टीकी कल्पना कुमालले ४१, नेपाल मजदुर किसान पार्टीका रामशरण बुढाथोकीले ३० र स्वतन्त्र उम्मेदवार हरि पोखरेलले १४ मत प्राप्त गरेका छन्। आवश्यक मत नपुगेपछि यी सबै उम्मेदवारको जमानत पनि जफत भएको निर्वाचन कार्यालयले जनाएको छ। उक्त क्षेत्रमा कुल १३ जनाले उम्मेदवारी दिएका थिए।
यस्तै गोरखा निर्वाचन क्षेत्र नम्बर–१ मा पनि अधिकांश उम्मेदवारले १० प्रतिशत मत प्राप्त गर्न नसक्दा जमानत जफत भएको छ। सो क्षेत्रमा १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा १० जनाको जमानत जफत भएको हो।
उक्त क्षेत्रमा नेकपा (एमाले) का रामचन्द्र लामिछानेले ३ हजार ७३२, उज्यालो नेपाल पार्टीका रामकाजी राना मगरले ४८९, राप्रपाका केदारमणि खनालले ३१०, संयुक्त नागरिक पार्टीका जितबहादुर घलेले १६५, मङ्गोल नेशनल अर्गनाइजेसनका देवबहादुर थापाले १४२ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का विष्णुप्रसाद रिजालले ५७, नेशनल रिपब्लिक नेपालका आकाश राना मगरले ३५, स्वतन्त्र उम्मेदवार कविता भट्टराईले २३ तथा नेपाल मजदुर किसान पार्टीकी मनुकुमारी श्रेष्ठले १९ मत प्राप्त गरेका छन्।
निर्वाचन आयोगका अनुसार सो क्षेत्रमा कुल ६३ हजार ६०९ मत खसेको थियो, जसमध्ये ६१ हजार ३९० मत सदर भएको थियो। जमानत जोगाउनका लागि कम्तीमा ६ हजार १३९ मत आवश्यक पर्ने भए पनि ती उम्मेदवारले उक्त सीमा पार गर्न नसकेपछि जमानत जफत भएको हो।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया