धनगढी। बाजुराको विकट गाउँमा एक गर्भवती महिलाले स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै सन्तानलाई जन्म दिएकी छन्।

स्वामिकार्तिक खापर गाउँपालिका–२, भैसागाडकी अन्दाजी २२ वर्षकी दुइला भण्डारी सुत्केरी व्यथाले च्यापेपछि परिवारले हिँडाएरै फयालगाउँस्थित आधारभूत स्वास्थ्य एकाइतिर लैजाँदै थियो। उनको अस्पताल नपुग्दै बाटोमै बच्चा जन्मिएको हो।

advertisement

घरबाट करिब एक–डेढ घण्टाको पैदल दूरीमा रहेको स्वास्थ्य संस्था जाँदै गर्दा बाटोमा उनलाई असह्य पीडा भयो। असहाय पिडाका कारण उनले अगाडि बढ्न नसक्ने भइन्।

यो खबर पाउनासाथ स्वास्थ्य एकाइमा कार्यरत स्वास्थ्यकर्मी अनमी विस्ना रोकाया हतार हतार घटनास्थलमै पुगिन् र बाटोमै सुरक्षित प्रसूति गराइन्। समयमै स्वास्थ्यकर्मीको साथ पाएकाले आमा र नवजात शिशु दुवैको ज्यान सुरक्षित भयो। अहिले दुवै जना स्वस्थ अवस्थामा घर फर्किसकेका छन्।

वडा नम्बर २ का अध्यक्ष विष्णुबहादुर बुढाका अनुसार कठिन भूगोल र स्वास्थ्य संस्था टाढा भएका कारण समयमै अस्पताल पुर्‍याउन नसक्दा यो अवस्था आएको हो।

‘गाउँमा कच्ची सडक त खनिएको छ, तर त्यहाँ न जतिबेला पनि गाडी चल्छन्, न त एम्बुलेन्सकै सुविधा छ। जसका कारण गाउँका गर्भवती महिलाहरूलाई सुत्केरी गराउन जोखिम मोलेरै हिँडाएर स्वास्थ्य संस्था लैजानुपर्ने बाध्यता छ,’ उनले भने।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com