काठमाडौं। टीकापुर स्थित इलाका प्रहरी कार्यालय टीकापुर को परिसरभित्र एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्।
करिब ३० वर्षीय प्रहरी जवान सन्देशबहादुर चनारा गएराति मृत फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली का प्रवक्ता योगेन्द्र तिमिल्सिना का अनुसार चनारा कार्यालयको छतबाट खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
राति करिब ११ बजे ड्युटीमा रहेका सुरक्षाकर्मीले उनलाई लडेको अवस्थामा देखेपछि तत्काल अस्पताल लगिएको थियो। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
घटनाको वास्तविक कारण पत्ता लगाउन तिमिल्सिनाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको प्रहरीले जनाएको छ। बझाङ स्थायी घर भएका चनारा करिब ६ महिनादेखि टीकापुर प्रहरी कार्यालयमा कार्यरत थिए।
उता, मृतकका आफन्तले भने उनको मृत्यु शंकास्पद रहेको बताएका छन्।
प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया