काठमाडौं। नेकपा (एमाले) ले संसदीय दलको नेता सुहाङ नेम्वाङ लाई बनाउने भएका छन् । यसपटक प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ९ सिट मात्रै जितेको छ। तीमध्ये चार जना कोशी प्रदेशबाट विजयी भएका छन्।
कोशीबाट विजयी हुनेमा क्षितिज थेबे (ताप्लेजुङ), सुहाङ (इलाम–२), डा. अर्जुनकुमार कार्की (संखुवासभा) र राजेन्द्रकुमार राई (धनकुटा) रहेका छन्।
थेबे र नेम्वाङ ४० वर्ष मुनिका युवा नेता हुन्।
इलाम–२ मा नेम्वाङले भेषराज आचार्य लाई ७ हजारभन्दा बढी मत अन्तरले पराजित गर्दै २२ हजार ४२६ मतसहित विजयी भए। आचार्यले १४ हजार ६५० मत प्राप्त गरेका थिए।
यस्तै अन्य क्षेत्रमा ऐनबहादुर महर (बझाङ), मोहम्मद ईस्तियाक राई (बाँके), लक्ष्मीप्रसाद पोखरेल (दैलेख–२), यज्ञबहादुर बोगटी (अछाम–२) र गणेशसिंह ठगुन्ना (दार्चुला) पनि विजयी भएका छन्।
इलामबाट विजयी नेम्वाङको जित अहिले विशेष चर्चामा छ। उनी दिवंगत नेता सुवासचन्द्र नेम्वाङ का छोरा हुन्। बुवाको निधनपछि रिक्त भएको स्थानमा भएको उपनिर्वाचन जित्दै उनी संसदीय राजनीतिमा आएका थिए।
सुवास नेम्वाङ प्रसिद्ध कानूनविद् तथा संविधानसभा अध्यक्ष समेत रहेका नेता थिए। अहिले एमालेबाट प्रत्यक्षतर्फ सीमित सिट जितेको अवस्थामा कानूनका विद्यार्थीसमेत रहेका सुहाङ नेम्वाङलाई संसदीय दलको नेता बनाउनुपर्ने चर्चा सामाजिक सञ्जाल र पार्टीभित्र सुरु भएको छ।
प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया