काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले निर्वाचनका क्रममा खटाइएका अस्थायी प्रहरीलाई सेवा समाप्तिसँगै खाली हात घर फर्कनुपर्ने अवस्था अन्त्य गर्न प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत नैनसिंह महरले प्रधानमन्त्री कार्कीलाई सम्बोधन गर्दै उनले निर्वाचनमा खटाइएका युवालाई बिदाइपछि पनि सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने दीर्घकालीन कार्यक्रम ल्याउन आग्रह गरेका हुन्।

advertisement

त्यस्तै, पत्रमा उनले राष्ट्रलाई आवश्यक परेको बेला सुरक्षा जिम्मेवारी सम्हाल्ने ती युवाहरू निर्वाचन सकिएको भोलिपल्टै बेरोजगार भएर घर फर्कनुपर्ने अवस्था दुखद रहेको उल्लेख गरेका छन्।

अन्ततः उनीहरू वैदेशिक रोजगारीको खोजीमा विदेशिन बाध्य हुने यथार्थतर्फ राज्यले ध्यान दिनुपर्ने महरको भनाइ छ।

महरका अनुसार राज्यले केही समयका लागि मात्र रोजगारी दिएर युवालाई बिदाइ गर्नुको सट्टा उनीहरूको भविष्यलाई उद्यमशीलतासँग जोड्ने योजना बनाउन आवश्यक छ।

त्यसका लागि युवाको रुचि र स्थानीय सम्भावनालाई आधार बनाएर आधुनिक कृषि, पर्यटन, प्राविधिक सीप तथा घरेलु उद्योगजस्ता क्षेत्रमा तालिम उपलब्ध गराउनुपर्ने र उद्यम सुरु गर्न सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्नुपर्ने उनले सुझाव दिएका छन्।

यस उद्देश्यका लागि ‘निर्वाचन प्रहरी उद्यमशीलता रूपान्तरण कार्यक्रम’ ल्याउन उनले सरकारसँग माग गरेका छन्।

गृह, श्रम, उद्योग र अर्थ मन्त्रालयको समन्वयमा उक्त कार्यक्रम मन्त्रिपरिषद्बाट पारित गरी देशभर लागू गर्न उनले आग्रह गरेका छन्।

महर डडेलधुरा क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए।

उक्त निर्वाचनमा भने उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ताराप्रसाद जोशीसँग पराजित भएका थिए।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com