काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको दुवै प्रत्यक्ष र समानुपातिक मतगणना बुधबार सकिएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार समानुपातिक मत गणना केही क्षेत्र सकिँदा दुवैतर्फको गणना पूर्ण भएको हो।
प्रत्यक्षतर्फको मतगणना यसअघि नै सकिसकेको थियो। प्रत्यक्ष निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२५, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र स्वतन्त्र उम्मेदवार १ जना सांसद निर्वाचित भएका थिए।
समानुपातिक मतगणना सकिएसँगै राजनीतिक दलले पाउने सिट निर्धारणको प्रक्रिया सुरु गरिएको छ।
बुधबार दिउँसोसम्म आयोगले समानुपातिकतर्फ एक करोड ७ लाख ८५ हजार ८७६ मत गणना गरिसकेको जनाएको छ।
यसमा रास्वपा ५१ लाख ५७ हजार १३० मतसहित अग्रस्थानमा रहेको छ।
कुन पार्टीका कति सांसद ?
नेपाली कांग्रेसले १७ लाख ५५ हजार ८७२, नेकपा एमालेले १४ लाख ५२ हजार ७५८, नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ९ हजार ५७७, श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७४१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार २६८ मत पाएको छ।
२०७९ को निर्वाचनमा ठूला दलका रूपमा रहेको नेपाली कांग्रेस र नेकपा एमाले दुवै दल यसपालि दुवै प्रणालीमा कमजोर देखिएका छन्।
अघिल्लो चुनावमा समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत पाएको एमालेको यसपालि मत करिब आधाले घटेर १४ लाख ५२ हजार ७५८ मात्र रह्यो। कांग्रेसको समानुपातिक मत पनि अघिल्लो निर्वाचनको तुलनामा ९ लाख ६० हजार ५३० मतले घटेर १७ लाख ५४ हजार ६९५ पुगेको छ।
समानुपातिक मतको आधारमा थपिने सांसद संख्या यस प्रकार छ: रास्वपा ५७, नेपाली कांग्रेस २०, एमाले १६, नेपाली कम्युनिस्ट पार्टी ९, श्रम संस्कृति पार्टी ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी ४।
प्रत्यक्ष र समानुपातिक दुवै समेट्दा २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपा १८२, कांग्रेस ३८, एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ र स्वतन्त्र १ सांसद रहनेछन्। अघिल्लो निर्वाचनमा रास्वपाका २१ सांसद थिए।
यस निर्वाचनमा जनमत, जसपा, लोसपा, नाउपा, नेमकिपा र जनमोर्चा राष्ट्रिय पार्टीले अपेक्षित परिणाम हासिल गर्न सकेनन्। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी यसपटक उदाउँदो दलका रूपमा देखिएको छ। फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुल ६७ वटा राजनीतिक दलले भाग लिएका थिए।
प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया