काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा सहभागी ५७ दलमध्ये ६ दलले मात्रै न्यूनतम मत सीमा (थ्रेसहोल्ड) पार गरेका छन् । बाँकी ५१ दलले तीन प्रतिशत मत नकटाउँदा समानुपातिकतर्फ सिट गुमाएका छन्।
निर्वाचन प्रणालीअनुसार कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गर्ने दलले मात्र समानुपातिक सिट पाउने व्यवस्था छ। यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै उक्त सीमा पार गरेका छन्।
यसका कारण मधेश केन्द्रित दलहरू समेत समानुपातिक सिटबाट बाहिरिएका छन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महत्तोको राष्ट्रिय मुक्ति पार्टी नेपाल, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राष्ट्रिय परिवर्तन पार्टीलगायतका दलले थ्रेसहोल्ड कटाउन सकेनन्।
समानुपातिकतर्फ कुल एक करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ। तीमध्ये रास्वपाले ५१ लाख ८१ हजार ३३० मत प्राप्त गरेको छ। त्यसपछि नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३, एमालेले १४ लाख ५५ हजार ६६९, नेकपाले ८ लाख ११ हजार ३९३, श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ८५२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार ६४९ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया