नयाँ दिल्ली । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने ‘एनएक्सटी समिट २०२६’ मा वक्ताका रूपमा सहभागी हुने भएकी छन्। भारतीय संसद्को राज्य सभाका सांसद कार्तिकेय शर्माले रेनु दाहाल लाई औपचारिक निमन्त्रणा पठाउँदै सम्मेलनमा विशिष्ट वक्ताका रूपमा आमन्त्रण गरेका हुन्।
आगामी मार्च १२, १३ र १४ गते नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजना हुने उक्त सम्मेलनमा विश्वभरका नीति निर्माता, बौद्धिक व्यक्तित्व, राजनीतिक नेतृत्व तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ। सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
त्यसैगरी अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसन सम्मानित अतिथिका रूपमा सहभागी हुनेछन्। भारतका रेल तथा सूचना प्रविधि राज्यमन्त्री अश्विनी वैष्णव तथा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री डा. जितेन्द्र सिंह लगायतका उच्चपदस्थ व्यक्तित्वहरूले पनि विभिन्न सत्रमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।
आयोजकका अनुसार यस सम्मेलनलाई विश्वस्तरीय विचार–मन्थन हुने वार्षिक मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। यस संस्करणमा हार्वर्ड, एमआईटी, अक्सफोर्ड र स्ट्यानफोर्डलगायत विश्वका उत्कृष्ट २५ विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरू सहभागी हुनेछन्। साथै ३० भन्दा बढी देशका सांसदहरूको पनि उपस्थिति रहने बताइएको छ।
विज्ञान तथा प्रविधिसम्बन्धी विशेष सत्र ‘एनएक्सटी इन साइन्स’ मा चर्चित भौतिकशास्त्री डा. ब्रायन ग्रीनको समेत सहभागिता रहने आयोजकले जनाएको छ।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया