काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन्द्र साहले नयाँ सरकार गठनको तयारी सुरु गरेका छन्। स्रोतका अनुसार सरकारको स्वरूप, आकार र मन्त्रालयको संरचना बारे पार्टीभित्र छलफल भइरहेको छ।

रास्वपाले हालै सम्पन्न आमनिर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको छ। प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सांसदको समर्थनमा बालेन्द्र प्रधानमन्त्री बन्ने निश्चित छ। थप दुई सांसदले समर्थन गरेमा दुई तिहाइ बहुमत पुग्नेछ। यस हिसाबले बालेन्द्र नेपालको संसदीय इतिहासमा शक्तिशाली प्रधानमन्त्रीमध्ये एक बन्नेछन्।

advertisement

समानुपातिकतर्फको सांसदको संख्या यकिन भए पनि क–कसलाई पठाउने भन्ने निर्णय अहिलेसम्म टुंगिएको छैन। निर्वाचन आयोगले औपचारिक संख्या घोषणा गरेपछि पार्टी बैठक बसेर सरकार गठनबारे औपचारिक छलफल हुनेछ। अहिलेसम्म बालेन्द्र आफूनिकट समूहसँग आन्तरिक गृहकार्यमा जुटेका छन्।

रास्वपाको वाचापत्रमा गैरसांसदलाई मन्त्री बनाउने प्रावधान भए पनि संविधानअनुसार उनीहरू ६ महिनाभित्र सांसद हुनैपर्छ, नत्र पद स्वतः रिक्त हुन्छ। हालको परिस्थितिमा ६ महिनाभित्र सांसद बनाउने सम्भावना नरहेको र संविधान संशोधन तत्काल सम्भव नहुने भएकाले बालेन्द्रले गैरसांसदलाई मन्त्री बनाउने योजना नराखेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार, बालेन्द्र साहले मन्त्री छनोट गर्दा सांसदहरूमध्ये क्षमता र विज्ञतालाई प्राथमिकता दिनेछन्। साथै मन्त्रालयको संख्या घटाउने तयारी भइरहेको छ। संविधान अनुसार सरकारमा अधिकतम २५ जना मन्त्री हुन सक्छन्, जबकि हाल मन्त्रालय संख्या २२ रहेको छ। बालेन्द्रले यसलाई १४–१५ वटा मन्त्रालयमा सीमित गर्ने सोच राखेका छन्।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com