काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुन माथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति कास्कीको पोखरा महानगरपालिका–१३ बाँझापाटन निवासी ४३ वर्षीय विकास गुरुङ रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनलाई पोखरा महानगरपालिका–९ महेन्द्रपुल क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतका अनुसार गुरुङलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ। प्रहरी अभिलेखअनुसार गुरुङ यसअघि पनि तीन पटक लागुऔषध सम्बन्धी मुद्दामा सजाय भोगिसकेको खुलेको छ।
प्रहरीका अनुसार पृथ्वीचोक क्षेत्रमा पुन सहितको टोलीले ‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ शीर्षकको पुस्तक बिक्री गरिरहेको बेला गुरुङले अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार












प्रतिक्रिया