काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण ले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने जनाएको छ।
प्राधिकरणले सूचना जारी गर्दै गोठाटार र बत्तीसपुतली फिडर अन्तर्गतका केही क्षेत्रमा अस्थायी रूपमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो। बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने यी फिडरमार्फत वितरण हुने ११ केभी लाइनको मर्मत कार्य गरिन लागेकाले पेप्सीकोला, टाउन प्लानिङ लगायतका क्षेत्रमा विद्युत् कटौती हुने बताइएको छ।
जीर्ण अवस्थामा रहेका पोलहरूको मर्मत तथा नयाँ पोल जडान गर्ने कार्यका लागि बिहान ११ बजेदेखि अपराह्न १ः३० बजेसम्म पेप्सीकोला र टाउन प्लानिङ क्षेत्रमा विद्युत् कटौती हुनेछ।
त्यसैगरी, मध्य बानेश्वर, पुरानो बानेश्वर र बत्तीसपुतली क्षेत्रमा भने अपराह्न २ बजेदेखि ४ बजेसम्म विद्युत् कटौती हुने सूचनामा उल्लेख गरिएको छ। निर्धारित समयभन्दा अगावै मर्मत कार्य सम्पन्न भएमा विद्युत् सेवा तत्काल पुनः सञ्चालन गरिने पनि प्राधिकरणले जनाएको छ।
विद्युत् कटौतीका कारण उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।
प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया