काठमाडौं । बरहथवामा शुक्रबार साँझ स्करपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
सर्लाही प्रहरीले जानकारी दिएको अनुसार, बरहथवा नगरपालिका–१० सीतापुरस्थित सडकमा बरहथवाबाट सीतापुरतर्फ जाँदै गरेको डिएल ९ सिजेड ०७७७ नम्बरको स्करपियोले विवाह समारोहमा जन्ती आएका व्यक्तिहरूलाई ठक्कर दिएको थियो।
दुर्घटनामा परी बरहथवा–९ का करिब ५० वर्षीय नारायण जर्गा मगरलाई उपचारका लागि नगर अस्पताल बरहथवा लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घाइतेमध्ये रौतहट दोस्तिया पिपरिया निवासी ७० वर्षीय कमल पटेल, रौतहट गढीमाई–११ निवासी विकास पटेलकी करिब ४५ वर्षीया श्रीमती बन्धना पटेल, बरहथवा–१० का १८ वर्षीय रुपेश मण्डल, १५ वर्षीया प्रतिमाकुमारी पटेल, १९ वर्षीय दिलीप राय, बरहथवा–७ का २३ वर्षीय चन्दन पासवान, बरहथवा–१० की १२ वर्षीया दीपिका जैसवाल, २० वर्षीय रामजी राय, २३ वर्षीय मुकेश राउत, ५५ वर्षीय रामनारायण ठाकुर र उनकी ४५ वर्षीया श्रीमती गुलाबकुमारी मण्डल रहेका छन्।
प्रहरीका अनुसार केही घाइतेको अवस्था गम्भीर छ र उनीहरू बरहथवास्थित विभिन्न अस्पतालमा उपचाररत छन्।
दुर्घटनापछि स्करपियो चालक, बरहथवा नगरपालिका–१२ का करिब ४० वर्षीय नरेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया