एजेन्सी। पश्चिम एसियामा जारी सैन्य संघर्ष दिनप्रतिदिन झनै तीव्र र भयावह बन्दै गएको छ। अमेरिका र इजरायलको मिसाइल र ड्रोन आक्रमणको प्रतिकारस्वरूप इरानले पनि निरन्तर मिसाइल तथा ड्रोनमार्फत प्रत्याक्रमण गरिरहेको छ।
मिसाइल र ड्रोन आक्रमणको क्रम चलिरहँदा यो द्वन्द्व अहिले १५औँ दिनमा प्रवेश गरिसकेको छ। क्षेत्रभरि उच्च सतर्कता र तनावको अवस्था कायम छ।
यसैबीच इरानले साउदी अरबमा अवस्थित अमेरिकी सैन्य एयरबेसलाई लक्षित गरी आक्रमण गरेको समाचार सार्वजनिक भएको छ। उक्त आक्रमणबाट अमेरिकी वायुसेनाका केही विमान क्षतिग्रस्त भएको बताइएको छ।
समाचार स्रोतहरूका अनुसार इरानले साउदी अरबको प्रिन्स सुल्तान एयरबेसमा बमबारी गरेको हो। आक्रमणका कारण पार्किङ अवस्थामा रहेका अमेरिकी वायुसेनाका पाँचवटा रिफ्युलिङ (इन्धन भर्ने) विमानमा क्षति पुगेको बताइएको छ।
यद्यपि ती विमान पूर्ण रूपमा नष्ट नभएको र मर्मतका लागि पठाइएको जानकारी दिइएको छ। हालसम्म यस आक्रमणबाट मानवीय क्षतिको कुनै पुष्टि भएको छैन।
यसअघि पश्चिमी इराकमा अमेरिकी वायुसेनाको केसी–१३५ ट्यांकर विमान दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनामा विमानमा सवार सबै छ जना चालक दलका सदस्यको मृत्यु भएको थियो।
त्यस्तै, मार्च १ मा कुवेतमा तीनवटा अमेरिकी एफ–१५ लडाकु विमान ‘फ्रेन्डली फायर’को घटनामा खसेका थिए। तर ती विमानमा रहेका चालक दलका सदस्यहरू भने सुरक्षित रहेको जनाइएको छ।
रिपोर्टहरूका अनुसार कुवेतस्थित अमेरिकी सैन्य कारबाहीका क्रममा एउटा एफ–१८ लडाकु विमानबाट गल्तीवश ती एफ–१५ विमानहरूलाई निशाना बनाइएको थियो, जसका कारण उक्त दुर्घटना भएको बताइएको छ।
प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया