काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले प्रतिनिधिसभा निर्वाचनको नतिजापछि पार्टीभित्र देखिएको अन्यौल र निराशालाई गम्भीर रूपमा लिएर समग्र समीक्षा गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले निर्वाचन परिणामपछि पार्टी पङ्क्तिमा निराशा र अन्यौल देखिनु स्वाभाविक भएको उल्लेख गरेका छन्। उनका अनुसार यसपटकको परिणाम एमालेको इतिहासमै ठूलो धक्कामध्ये एक हो।

advertisement

ज्ञवालीले निर्वाचनअघि पार्टीले निकै चुनौतीपूर्ण परिस्थिति सामना गर्नुपरेको पनि बताएका छन्। उनका अनुसार देशभर पार्टीका ६४ भन्दा बढी कार्यालयमा आक्रमण गरी ध्वस्त पारिएको, दुई सयभन्दा बढी नेता–कार्यकर्ताका घरमा हमला भएको तथा विभिन्न कार्यक्रममा धम्की, अवरोध र आक्रमण भएको अवस्था थियो।

‘निर्वाचन परिणामपछि एमाले पङ्क्तिमा अन्यौल र निराशा देखिनु अस्वाभाविक होइन। हामीले व्यहोरेको परिणाम पार्टी इतिहासकै गम्भीर धक्कामध्ये एक हो,’ उनले उल्लेख गरेका छन्।

उनका अनुसार यस्ता कठिन परिस्थितिका बीच पनि निर्वाचन प्रक्रियामा सहभागी हुनु लोकतन्त्रप्रतिको प्रतिबद्धता र जनताप्रतिको विश्वासको उदाहरण हो। उनले अत्यन्त राम्रो परिणाम आउने अपेक्षा नभए पनि यति ठूलो झट्का आउने अनुमान भने नगरेको बताए।

‘हामीले अत्यन्त राम्रो नतिजाको अपेक्षा गरेका थिएनौँ। समय अनुकूल छैन भन्ने थाहा थियो, तर यस्तो स्तरको धक्का आउने कल्पना गरेका थिएनौँ,’ उनले भनेका छन्, ‘फेरि पनि भन्नैपर्छ, अहिले हामी इतिहासकै कठिन मोडमा उभिएका छौँ।’

ज्ञवालीले अहिलेको अवस्थामा पार्टीभित्र नीतिगत, संरचनागत, कार्यशैली र नेतृत्वसँग सम्बन्धित विषयमा वस्तुनिष्ठ तथा गहन समीक्षा अपरिहार्य भएको बताएका छन्। समीक्षा नगरी केवल दोषारोपणमा मात्र केन्द्रित भए संकट अझ गहिरिने उनको भनाइ छ।

उनले हालको परिस्थितिलाई केवल एमालेको समस्या मात्र नभई समग्र कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनकै चुनौतीका रूपमा हेर्नुपर्ने बताए। साथै नयाँ पुस्तासँग पार्टीको संवाद कमजोर भएको र उनीहरूको विश्वास जित्न नसकिएको तथ्यलाई पनि स्वीकार गर्नुपर्ने उनको धारणा छ।

उनले फेशबुकमा लेखेका छन्–

प्रिय कमरेडहरु,

ढल्नु भनेको सकिनु होइन । फेरि उठ्नका लागि तयारी थाल्नु हो ।
आउनुहोस्– फेरि उठ्ने तयारी थालौँ ।

प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com