एजेन्सी । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)को नौसेनाले खाडी क्षेत्रमा रहेका तीन अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ।
इरानी सञ्चारमाध्यमका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजीसी)का नौसेना प्रमुख एडमिरल अलिरेजा तंगसीरीले संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित अल–धफरा एयरबेस र बहराइनको शेख ईसा एयरबेसलाई लक्षित गरी आक्रमण गरिएको बताएका छन्। उनका अनुसार उक्त आक्रमणमा प्याट्रियट राडार प्रणाली, सैन्य विमान तथा विमानका इन्धन भण्डारण ट्याङ्कीहरू निशाना बनाइएका थिए।
यद्यपि, इरानले गरेको यस दाबीको स्वतन्त्र पुष्टि भने हालसम्म हुन सकेको छैन।
यसैबीच अमेरिकाले इरानका थप केही टापुहरूलाई लक्षित गर्दै सैन्य कारबाही गर्न सक्ने संकेत दिएको छ। अमेरिकाले यसअघि नै इरानको प्रमुख तेल निर्यात केन्द्र मानिने खार्ग टापुमा आक्रमण गरिसकेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराका अनुसार अब अमेरिकी सेनाको अर्को सम्भावित निशाना अबु मुसा टापु हुन सक्ने बताइएको छ।
अमेरिकी सेनाले खार्ग टापुमाथि गरिएको आक्रमणको भिडियो पनि सार्वजनिक गरेको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार उक्त आक्रमण अत्यन्त सटीक र योजनाबद्ध रूपमा गरिएको थियो।
खार्ग टापु इरानको तेल निर्यातका लागि सबैभन्दा महत्वपूर्ण केन्द्र मानिन्छ। युद्ध सुरु हुनुअघि इरानको कच्चा तेल निर्यातको करिब ९० प्रतिशत हिस्सा यही टापुबाट हुने गरेको थियो।
प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया