काठमाडौं। सरकारले गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ।

आइतबार बालुवाटार स्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन अध्ययनका लागि नेपाल सरकार मन्त्रिपरिषद्ले औपचारिक रूपमा ग्रहण गर्ने निर्णय

advertisement

गरेको जानकारी सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्याल ले दिएका छन्। यस विषयमा सोमबार विस्तृत विवरण सार्वजनिक गरिने उनले बताए।

बैठकले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा गृहमन्त्री अर्याललाई नियुक्त गर्न नेपाल सरकार को तर्फबाट रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी पश्चिमी एसियाका युद्ध प्रभावित मुलुकहरूमा रहेका तथा ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकहरूको उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन

सम्बन्धित देशहरूमा रहेका नेपाली कूटनीतिक नियोगहरूलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिने निर्णय पनि गरिएको छ।

यसअनुसार रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, मनामा, मस्कट, इस्लामाबाद, काइरो र तेल अबिब स्थित नेपाली दूतावास तथा जेद्दा र दुबई स्थित नेपाली महावाणिज्य दूतावासहरूले आवश्यक समन्वय र व्यवस्थापन गर्नेछन्।

त्यस्तै मन्त्रिपरिषद् बैठकले नेपालका हिमनदी बेसिन क्षेत्रमा सम्भावित हिमताल विस्फोटजन्य बाढी तथा जलवायु परिवर्तनका कारण हुने बाढीबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि सञ्चालन हुने परियोजनामा प्राप्त अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।

यस परियोजनाका लागि हरित जलवायु कोष मार्फत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम द्वारा उपलब्ध हुने दुई करोड ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता नेपाल सरकारले स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता अर्यालले जानकारी दिएका छन्।

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com