काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको भन्दै रूपन्देहीका उद्योगी–व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्। भैरहवामा रहेको यो विमानस्थल नियमित रूपमा सञ्चालन नहुँदा पर्यटन क्षेत्रमा गरिएको अर्बौँ लगानी जोखिममा पर्ने अवस्था सिर्जना भएको भन्दै उनीहरूले सरकारले तत्काल प्रभावकारी पहल गर्न माग गरेका छन्।
पर्यटन व्यवसायी अमित गुप्ताका अनुसार यस क्षेत्रको पर्यटन क्षेत्रमा मात्रै करिब एक खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। लुम्बिनी, देवदह, रामग्राम, तिलौराकोट र रोहिणी नदी जस्ता ऐतिहासिक, धार्मिक तथा बौद्ध सभ्यतासँग सम्बन्धित महत्त्वपूर्ण गन्तव्यहरूको प्रवर्द्धनका लागि यो विमानस्थल मुख्य आधार मानिए पनि अपेक्षित रूपमा सञ्चालन हुन नसक्दा लगानीकर्ताहरू निराश बनेका छन्। विमानस्थल सञ्चालनमा देखिएको ढिलाइले समग्र लुम्बिनी क्षेत्रको पर्यटन विकासमै असर परेको उनीहरूको भनाइ छ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले अब गठन हुने नयाँ सरकारले विमानस्थल सञ्चालनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनका अनुसार विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आए पर्यटनसँगै यस क्षेत्रको आर्थिक गतिविधिमा पनि उल्लेखनीय परिवर्तन आउनेछ। स्थिर सरकार बनेपछि लगानीमैत्री वातावरण, पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनमा ठोस कदम चालिने अपेक्षा निजी क्षेत्रले गरेको छ।
यसैगरी, नेपाल भन्सार एजेन्ट संघ भैरहवाका अध्यक्ष मधुप्रसाद पन्थीले रूपन्देही नेपालकै महत्त्वपूर्ण औद्योगिक करिडोर भएकाले यहाँका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन विमानस्थलको ठूलो भूमिका हुने बताएका छन्। उनका अनुसार विमानस्थल नियमित रूपमा सञ्चालनमा आए र नाका व्यवस्थापन प्रभावकारी भए अन्तर्राष्ट्रिय व्यापार विस्तारमा सहयोग पुग्नेछ र औद्योगिक क्षेत्र अझ सशक्त बन्नेछ।
व्यवसायीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आए लुम्बिनी क्षेत्रको पर्यटनसँगै उद्योग–व्यापारमा समेत नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार













प्रतिक्रिया