काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले ‘स्ट्रेट अफ हर्मुज’ खुलाउन सहयोग नगरे चीन भ्रमण ढिला गर्न सक्ने चेतावनी दिएका छन्।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि हमला गरेपछि इरानले आफ्नो नजिकै रहेको साँघुरो समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेको थियो।

advertisement

यो जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत ग्यास आपूर्ति हुने भएकाले मार्ग बन्द भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ। यसको असर विश्व अर्थतन्त्रमा पनि परेको बताइएको छ।

उक्त जलमार्ग पुनः सञ्चालन गराउन ट्रम्पले प्रयास गरिरहेका छन्। विश्व अर्थतन्त्रमा थप समस्या नआओस् भनेर आवश्यक परे युद्धपोतमार्फत सुरक्षा घेराबन्दी गरेर भए पनि हर्मुज खोल्ने उनले बताएका छन्।

शनिबार मात्रै उनले हर्मुज खुलाउन युद्धपोत पठाउन चीन, बेलायत लगायत देशलाई आग्रह गरेका थिए। तर चीनले युद्धपोत पठाउने सम्भावना कम देखिएको छ।

त्यसैले चीनले हर्मुज खुलाउन पहल गरोस् भन्ने दबाब दिन ट्रम्पले चीन भ्रमण पछि सार्ने संकेत दिएका हुन्। उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हुने शिखर सम्मेलनअघि नै तेल आपूर्ति सम्बन्धी समस्या समाधान होस् भन्ने चाहना व्यक्त गरेका छन्।

फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा ट्रम्पले भने, “मलाई लाग्छ चीनले पनि मद्दत गर्नुपर्छ, किनकि चीनले आफ्नो करिब ९० प्रतिशत तेल त्यही जलमार्गबाट प्राप्त गर्छ।”

शिखर सम्मेलनअघि चीनले सहयोग गर्छ कि गर्दैन भन्ने थाहा पाउन चाहेको उनले बताएका छन्। “हामी भ्रमण ढिलाइ गर्न सक्छौँ,” उनले भने।

तर भ्रमण कति समयका लागि पछि सार्ने भन्नेबारे उनले खुलाएका छैनन्।

केही महिनाअघि चीनसँग भएको व्यापार सुलहलाई अन्तिम रूप दिन ट्रम्प मार्चको अन्त्यतिर चीन भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ। आपसी व्यापारका विषयसँगै ताइवान मामिलाबारे पनि ट्रम्प र सीबीच छलफल हुने अपेक्षा गरिएको छ।

ट्रम्प रिसाएर भ्रमण रद्द गर्न सक्छन् भन्ने आशंकाका कारण चीनले इरानमाथि भएको हमलाको धेरै कडा विरोध नगरेको विश्लेषण पनि गरिएको छ। यही अवस्थालाई ध्यानमा राख्दै ट्रम्पले हर्मुज खुलाउन चीनमाथि दबाब बढाउन भ्रमण ढिला गर्ने चेतावनी दिएका हुन्।

 

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com