काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले आफ्नो पार्टी प्रतिनिधिसभामा सिट नजिते पनि जनताको मुद्दा र पहिचानको आन्दोलनबाट पछि नहट्ने बताएका छन्।
सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै रेशमलाल चौधरीले निर्वाचनमा सिट प्राप्त नभए पनि कुनै राजनीतिक दल समाप्त नहुने स्पष्ट पारे। उनका अनुसार जनताको अधिकार र पहिचानको लडाइँलाई पार्टीले निरन्तर अघि बढाइरहनेछ।
‘अहिले हाम्रो प्रतिनिधिसभामा सांसद नहोलान्, तर हाम्रो साथमा हजारौँ पहरेदार र समर्थक छन्,’ उनले भने, ‘पहिचान र अधिकारका मुद्दामा हाम्रो यात्रा रोकिने छैन, लक्ष्य हासिल नभएसम्म हामी संघर्ष जारी राख्नेछौँ।’
यसै क्रममा उनले पछिल्लो निर्वाचनमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी को लोकप्रियतालाई ‘सुनामी’ भन्दा पनि परिवर्तनप्रतिको जनविश्वासका रूपमा व्याख्या गरे।
चौधरीले निर्वाचन परिणामलाई सकारात्मक रूपमा ग्रहण गर्नुपर्ने उल्लेख गर्दै आगामी दिनमा देशको राजनीति सुशासन, विकास र समृद्धिको दिशातर्फ अघि बढ्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार












प्रतिक्रिया