काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध दायर सहकारी ठगीसम्बन्धी मुद्दासँगै जोडिएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटाउने निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सुनुवाइ आज पनि टुंगिन सकेन।
सोमबार सर्वोच्च अदालतमा न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेल को संयुक्त इजलासमा उक्त मुद्दा सुनुवाइका लागि तोकिएको थियो। तर बहस नसकिएकाले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखिएको अदालत स्रोतले जनाएको छ। अब यस विषयमा भोलि पुनः सुनुवाइ हुने तय भएको छ।
यसअघि सविता भण्डारी नेतृत्वको महान्यायाधिवक्ता कार्यालय ले लामिछानेविरुद्ध विभिन्न जिल्लामा विचाराधीन सहकारी ठगीसम्बन्धी मुद्दामा संशोधन गर्न सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएको थियो।
भण्डारीले पुस ३० गते सदर गरेको सात पृष्ठ लामो ‘टिप्पणी र आदेश’मार्फत लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा मात्रै अघि बढाउने र सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणजस्ता अन्य दुई गम्भीर प्रकृतिका अभियोग हटाउन निर्देशन दिएकी थिइन्।
उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफल ले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। रिटमा महान्यायाधिवक्ताको उक्त निर्देशन कानूनविपरीत भएको दाबी गरिएको छ।
प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार












प्रतिक्रिया