काठमाडौं। मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीच जारी युद्धमा घाइते अमेरिकी सैनिक हरूको संख्या झन्डै २०० पुगेको अमेरिकी सैन्य अधिकारीहरूले बताएका छन् ।
यीमध्ये कम्तीमा १३ जना अमेरिकी सैनिक को मृत्यु भइसकेको छ ।
युद्ध फेब्रुअरी २८ गतेदेखि सुरु भएको हो ।
इरानी पक्षले युद्ध सुरु भएयता ३ हजारभन्दा बढी मानिसको मृत्यु भएको दाबी गरेको छ ।
इरान बाहिरबाट सञ्चालन भइरहेको मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) ले कुल मृत्यु हुनेमा १,३५१ जना नागरिक र १,१२६ जना सैन्य कर्मचारी रहेको जानकारी दिएको छ ।
लेबनानमा पनि युद्धको प्रभाव व्यापक देखिएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धका क्रममा ८८६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६७ जना महिला र १११ जना बालबालिका रहेका छन् ।
यसैगरी संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, साउदी अरेबिया, बहराइन र ओमानमा पनि युद्धसँग सम्बन्धित मृत्युका घटना रिपोर्ट भएका छन् ।
यी देशहरूमा रहेका अमेरिकी सैन्य आधार तथा अन्य संरचनामा इरानी पक्षबाट प्रहार भएका मिसाइल तथा ड्रोन आक्रमणका कारण क्षति पुगेको छ ।
खाडी क्षेत्रमा जारी यो द्वन्द्वले विश्व ऊर्जा आपूर्ति, समुद्री मार्ग तथा अन्तर्राष्ट्रिय व्यापारमा ठूलो असर पारिरहेको छ ।
होर्मुज जलडमरुमध्य तथा बब अल-मन्डेब स्ट्रेट जस्ता महत्वपूर्ण जलमार्गहरूमा तनाव बढेसँगै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ ।
खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा जोखिममा परेको छ ।
परराष्ट्र मन्त्रालयले नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, अनावश्यक यात्रा नगर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न पटकपटक आग्रह गरिसकेको छ ।
यदि कुनै नेपाली नागरिकलाई उद्धार वा सहयोग आवश्यक परेमा तत्काल नजिकको नेपाली दूतावास वा परराष्ट्र मन्त्रालयको आपत्कालीन हटलाइनमा सम्पर्क गर्न सकिन्छ ।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार












प्रतिक्रिया