काठमाडाैं । उदयपुरको कटारी नगरपालिका–५ र ८ मा आएको हुरीबतासका कारण दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन थापाका अनुसार सोमबार साँझ आएको हुरीबाट कटारी–८ थलियाटारकी ४९ वर्षीया मीनामाया तामाङको कुटमेरो रुखको हाँगा लागेर दुई जनाको मृत्यु भएको हो।
यस्तै कटारी–५ तीनकुने चोकस्थित राधाकृष्ण मन्दिर नजिकै हुरीका कारण सखुवाको रुख ढलेर लाग्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
हुरीबतासका कारण घाइते हुनेहरूमा कटारी–८ की २० वर्षीया कमलाकुमारी पुलामी मगर, कटारी–५ का मृतक चौधरीकी नातिनी ५ वर्षीया बिनिशा, सोही वडाका २७ वर्षीय युवराज कार्की, प्रेमचन्द्र दनुवार, लीलबहादुर दनुवार र १६ वर्षीया अस्मिता परियार रहेका छन्।
घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा रिफर गरिएको छ। कटारी–५ का ४६ वर्षीय लीलबहादुर दनुवार र २० वर्षीया कमलाकुमारी पुलामी मगरलाई विराटनगर पठाइएको प्रहरीले जनाएको छ।
अन्य चार जनाको सोमबार साँझ नै कटारी अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ।
मृतकहरूको शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको र परीक्षणको तयारी भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिएका छन्।
हुरीबतास र वर्षाका कारण कटारीको पहाडी क्षेत्रमा केही घरका छाना उड्नुका साथै सामान्य क्षति भएको विवरण पनि प्राप्त भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार











प्रतिक्रिया