एजेन्सी ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले क्युबाप्रति आक्रामक अभिव्यक्ति दिँदै आफूले उक्त देशमा जे चाह्यो त्यही गर्न सक्ने टिप्पणी गरेका छन् । सोमबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले  भविष्यमा क्युबामाथि कडा कदम चाल्न सक्ने संकेत दिए । ‘म त्यसलाई मुक्त गरूँ वा लिऊँ—म जे चाहे त्यही गर्न सक्छु,’ उनले भने ।

अमेरिकी प्रतिबन्धका कारण क्युबा गम्भीर आर्थिक संकट, ऊर्जा अभाव र सामाजिक अस्थिरतासँग जुधिरहेको समयमा ट्रम्पको यो टिप्पणी आएको हो । हालैका महिनाहरूमा क्युबामा इन्धन अभाव, विद्युत् कटौती र आपूर्ति प्रणालीमा समस्या बढ्दै गएको छ, जसले देशभर व्यापक असर पारेको छ । विशेषगरी अमेरिकी प्रतिबन्ध र तेल आपूर्तिमा आएको अवरोधले क्युबाको ऊर्जा संकटलाई झनै गहिरो बनाएको बताइन्छ । केही रिपोर्टहरूका अनुसार, भेनेजुएलासँगको सम्बन्ध कमजोर हुँदै जाँदा क्युबाको इन्धन आपूर्ति प्रभावित भएको छ । यससँगै देशमा पटक–पटक विद्युत् भइरहेका छन्, जसले जनजीवन कष्टकर बनाएको छ ।

advertisement

यता अमेरिका र क्युबाबीच सम्बन्ध सुधारका लागि वार्ता सुरु भएको भए पनि ट्रम्पको यस्तो कडा अभिव्यक्तिले वार्ताको वातावरण नै प्रभावित हुने संकेत देखिएको छ । क्युबाको वर्तमान नेतृत्वप्रति अमेरिकी पक्षले असन्तुष्टि व्यक्त गर्दै आएको छ । रिपोर्टहरूका अनुसार, अमेरिकाले क्युबाका राष्ट्रपति मिगुएल डियाज–कानेललाई पदबाट हटाउने विषयलाई वार्ताको प्रमुख एजेन्डाका रूपमा अघि सारेको छ । तर यसबारे औपचारिक पुष्टि भने गरिएको छैन ।

क्युबाले भने आफ्नो आन्तरिक मामिलामा बाह्य हस्तक्षेप अस्वीकार्य हुने सधैं स्पष्ट गर्दै आएको छ । कुनै पनि सम्झौताका लागि राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रता अपरिहार्य सर्त भएको उसले बताउँदै आएको छ ।

इतिहास पल्टाएर हेर्ने हो भने अमेरिका–क्युबा सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ । सन १९५९ मा फिडेल कास्ट्रोको नेतृत्वमा भएको क्रान्तिपछि क्युबाले अमेरिकासँग दूरी बढाएको थियो । त्यसयता दुबै देशबिच राजनीतिक, आर्थिक र कूटनीतिक विवाद जारी रहँदै आएका छन् ।

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com