काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले आगामी पाँच वर्षभित्र जनताको पूर्ण विश्वास जित्दै अर्को निर्वाचनमा पार्टीलाई निर्विवाद जित दिलाउन नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन्।
ललितपुरमा आयोजित नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै अर्यालले भने, ‘आगामी निर्वाचनसम्म नेपाली जनताले रास्वपामा मात्रै मतदान गर्ने वातावरण सिर्जना गर्नु प्रत्येक सांसदको प्रमुख जिम्मेवारी हो। यो लक्ष्य केवल भाषण वा नेताको दौडधुपबाट सम्भव छैन, हरेक जनप्रतिनिधिले आफ्नो क्षेत्रमा नतिजामुखी काम गर्नुपर्छ।’
उपसभापति अर्यालले प्राविधिक जित भले पार्टीले हासिल गरेको भए पनि देश र जनताले वास्तविक सफलता महसुस गर्न अझ बाँकी रहेको बताए। उनले आगामी सरकारले सुशासन कायम गर्न, प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न र भ्रष्टाचारको पूर्ण अन्त्य गर्न तत्पर रहनुपर्नेमा जोड दिए।
अर्यालले सांसदहरूलाई दूरदराजका नागरिकसम्म राज्यको उपस्थिति अनुभव गराउन र ‘मेरो लागि सरकार छ’ भन्ने विश्वास दिलाउन जिम्मेवार हुनुपर्ने बताए। विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने वातावरण तयार गर्नु पार्टीको मुख्य प्राथमिकतामा पर्नुपर्ने उनले उल्लेख गरे।
कार्यक्रममा उनले सांसदहरूलाई आफ्नो क्षमता, इमानदारी र लगनशीलता राष्ट्रहितमा समर्पित गर्न आह्वान गर्दै वर्तमान समयलाई इतिहास लेख्ने ‘स्वर्ण अवसर’को रूपमा व्याख्या गरे। ‘यदि हामीले यो अवसरको सदुपयोग गर्न सकेनौं भने भविष्यमा आफैँलाई माफ गर्न गाह्रो हुनेछ,’ उनले चेतावनी दिए।
उपसभापति अर्यालले पार्टीभित्र हुन सक्ने आन्तरिक द्वन्द्व, खिचातानी र खुट्टा तान्ने प्रवृत्तिबाट टाढा रहन सबैलाई सचेत गराए। देश निर्माणमा हरेक मिनेटको लगानी आवश्यक रहेको भन्दै नयाँ राजनीतिक सन्देश दिन सबै सांसदहरू एकजुट हुनुपर्ने बताए।
अन्त्यमा उनले वर्तमान जनादेश पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहप्रतिको भरोसाका कारण प्राप्त भएको स्वीकार गर्दै, आगामी दिनमा त्यो भरोसा कायम राख्न र पार्टीलाई पहिलो स्थानमा राख्न सबै सदस्यहरूको सामूहिक मिहिनेत अपरिहार्य भएको बताए। सभापति र वरिष्ठ नेतालाई मात्र अगाडि राखेर नतिजा नआउने भन्दै, हरेक सांसदले आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट काम गरेर जनताको मन जित्नुपर्नेमा उनले जोड दिए।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार












प्रतिक्रिया