काठमाडौं । गृह मन्त्रालय ले नेपाल–चीन सम्बन्धलाई असर पर्ने खालको घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ।
परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रअनुसार उक्त घटनाबारे विस्तृत जानकारीसहित गृह मन्त्रालयलाई अवगत गराइएको र सोही आधारमा छानबिन गरी दोषीलाई कारबाहीका लागि अघि बढाउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
मोरङस्थित मनमोहन प्राविधिक संस्थानमा चीनका राष्ट्रपति सी चिनफिङको पुस्तक ‘द गभर्नेन्स अफ चाइना’ जलाइएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो।
उक्त घटनाबारे छानबिन तथा आवश्यक कारबाहीका लागि काठमाडौंस्थित जनवादी गणतन्त्र चीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्र पठाएको थियो।
सोही पत्रका आधारमा गृह मन्त्रालयले आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई निर्देशन दिएको हो। साथै, घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन मोरङका जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई पनि गृह मन्त्रालय ले निर्देशन दिएको छ।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया