काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आफ्नो कार्यकालको १०० दिनमा भएका कामकारबाही र उपलब्धिहरू सार्वजनिक गरेकी छन्। जेन–जी आन्दोलनपछि बनेको नागरिक सरकारमा मन्त्रीको जिम्मेवारी सम्हालेपछि उनले सेवा प्रवाह र प्रणालीगत सुधारलाई मुख्य आधार बनाएर कार्य अघि बढाएको बताइन्।

उनका अनुसार मन्त्रालयको कामलाई दुई प्रमुख पक्ष—सेवा प्रवाह र प्रणाली सुधार—मा विभाजन गरी छ वटा प्राथमिक क्षेत्रमा केन्द्रित भएर काम गरिएको हो। छोटो समयमै जनतामा सकारात्मक प्रभाव पार्ने लक्ष्यका साथ ती प्राथमिकता निर्धारण गरिएको उनले स्पष्ट पारिन्।

advertisement

नीतिगत तथा संस्थागत सुधारतर्फ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँगको सहकार्यलाई व्यवस्थित बनाउन ‘अन्तर्राष्ट्रिय गैरसरकारी संस्था परियोजना सहजीकरण कार्यविधि, २०८२’ तयार पारिएको छ। साथै, सार्वजनिक निकायका नीति, कार्यक्रम, बजेट र निर्णय प्रक्रियालाई लैङ्गिक दृष्टिले मूल्याङ्कन गर्न ‘राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि, २०८२’ पनि लागू गरिएको उनले जानकारी दिइन्। यसले लैङ्गिक समानता प्रवर्द्धन गर्दै शासन प्रणालीलाई उत्तरदायी बनाउने अपेक्षा गरिएको छ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सुरक्षित र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएका थिए। निर्वाचनसम्बन्धी सचेतना फैलाउन सात भाषामा श्रव्यदृश्य सामग्री तयार गरी विभिन्न माध्यमबाट प्रसारण गरिएको थियो।

बालबालिकाको अधिकार संरक्षणका लागि ‘बालबालिका उत्तरदायी बजेट संकेत कार्यविधि, २०८२’ तयार पारिएको छ। नुवाकोटस्थित केन्द्रीय कारागार परिसरमा बाल सुधार गृह स्थापना गरी १८ वर्ष नाघेका ८१ जना बालबिझ्याइकर्तालाई भक्तपुर र पर्साबाट स्थानान्तरण गरिएको मन्त्रालयले जनाएको छ। साथै, भक्तपुर र सिंहदरबारमा दिवा शिशु स्याहार केन्द्र विस्तारको काम अघि बढाइएको छ भने मकवानपुरमा बाल सुधार गृहका लागि थप संरचना निर्माण प्रक्रिया जारी छ।

अपाङ्गता अधिकार प्रवर्द्धनका लागि मन्त्रालयलाई नमुना अपाङ्गमैत्री निकाय बनाउने उद्देश्यले ब्रेल एम्बोस गरिएको बोर्ड र भिजिटिङ कार्ड प्रयोगमा ल्याइएको छ, जुन नेपाल सरकारको इतिहासमै पहिलो पहल हो। साथै, संघीय मन्त्रालयका भवनहरू अपाङ्गमैत्री छन् वा छैनन् भन्ने मूल्याङ्कन गर्ने तयारी भइरहेको छ। राष्ट्रिय अपाङ्ग कोषमार्फत १८५ जनालाई सहायक सामग्री वितरण गरिएको छ भने पूर्ण अशक्त र संरक्षकविहीन व्यक्तिलाई आवासीय सेवा प्रदान गरिएको छ।

मानव बेचबिखन नियन्त्रणतर्फ ‘मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८२’ मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ। अन्तरदेशीय समन्वय बैठक, अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने कार्य तथा जोखिम समूह लक्षित अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।

‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत दुर्गम क्षेत्रमा जोखिममा परेका १३ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ। नवजात शिशुको उपचारका लागि कान्ति बाल अस्पतालसँग सहकार्य गरिएको पनि जानकारी दिइएको छ।

सामाजिक कुरीति अन्त्य तथा महिला सशक्तीकरणका लागि टेलिभिजनमार्फत सचेतनामूलक सामग्री प्रसारण सुरु गरिएको छ। साथै, महिला उद्यमशीलता प्रवर्द्धन र विपन्न वर्गको जीविकोपार्जन सुधार कार्यक्रमको अनुगमन गरिएको छ।

ज्येष्ठ नागरिकका लागि ‘हाम्रो साझा अभियान—ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नारासहित पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ। स्वास्थ्य सेवा तथा सूचना उपलब्ध गराउन हटलाइन १११५ सञ्चालनमा ल्याइएको छ भने विद्यालयस्तरमा बुढ्यौली शिक्षा र स्वास्थ्यसम्बन्धी कार्यक्रम पनि सुरु गरिएको छ।

लैङ्गिक हिंसा न्यूनीकरणतर्फ जाजरकोटकी सराकुमारी शाहीको अनसन प्रकरण समाधानका लागि सम्बन्धित निकायबीच समन्वय गरी उपचार र कानुनी प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। आरोपितलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाहीका लागि पठाइएको छ भने पीडितलाई सुरक्षासहित सुरक्षित स्थानमा राखिएको छ।

श्रद्धा  श्रेष्ठले छोटो अवधिमा नीति सुधार, संस्थागत सुदृढीकरण र सेवा प्रवाहमा उल्लेखनीय प्रगति भएको बताउँदै यी उपलब्धि विभिन्न तहका सरकार, निकाय, कर्मचारी, विकास साझेदार र सञ्चारकर्मीको सहकार्यबाट सम्भव भएको उल्लेख गरिन्। आगामी दिनमा पनि महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको अधिकार र सामाजिक न्याय सुनिश्चित गर्न मन्त्रालय दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरिन्।

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com