काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सरकार गठनको तयारीमा जुटिरहेका बेला नेपाली कांग्रेस र नेकपा (एमाले) भने निर्वाचन परिणामको समीक्षामा केन्द्रित भएका छन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अपेक्षाअनुसार नतिजा ल्याउन नसकेको निष्कर्षसहित कांग्रेस, एमालेलगायत दलहरूले पराजयका कारणबारे आन्तरिक समीक्षा थालेका हुन्।
कांग्रेसले निर्वाचन परिणाम र पराजयका कारणबारे विस्तृत छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ। यसअघि नै पार्टीले मातहतका सबै समिति र उम्मेदवारलाई चैत ३ भित्र समीक्षा प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको थियो। पार्टीले सदस्यहरूको साथ र समर्पण हुँदाहुँदै पनि अपेक्षित परिणाम नआएको स्वीकार गर्दै यसलाई आत्मसमीक्षाको विषय बनाएको जनाएको छ।
यस्तै, एमाले पनि आन्तरिक समीक्षामा सक्रिय छ। अध्यक्ष केपी शर्मा ओली व्यक्तिगत शोकमा रहेका भए पनि महासचिव शंकर पोखरेलले डिजिटल बैठकमार्फत पार्टी पंक्तिलाई निर्देशन दिइरहेका छन्। उनले हारका कारण लिखित रूपमा पठाउन मातहतका निकायलाई आग्रह गरेका छन्।
यसबीच, निर्वाचनपछि प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी भने सरकार गठनको तयारीलाई तीव्र बनाइरहेको छ। नवनिर्वाचित सांसदहरूका लागि दुईदिने विशेष प्रशिक्षण सञ्चालन गर्दै पार्टीले संसदीय दलको नेता चयन र विधान संशोधनको प्रक्रिया अघि बढाउने तयारी पनि गरिरहेको छ।
पार्टीका सांसदहरू प्रशिक्षणमा व्यस्त रहँदा सम्भावित प्रधानमन्त्रीका रूपमा हेरिएका बालेन्द्र शाह भने सरकार गठनको रणनीतिमा केन्द्रित छन्। उनी सम्भावित मन्त्रिमण्डलको आकार, सदस्य छनोटका मापदण्ड तथा सरकारको प्रारम्भिक कार्यसूची तय गर्न व्यस्त रहेको बताइएको छ।
प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार












प्रतिक्रिया