काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्री बालेन्द्र साह ले आफ्नो नेतृत्वमा सरकार गठनका लागि गृहकार्य तीव्र बनाएका छन्।
आफ्नो मन्त्रिपरिषदमा क–कसलाई समेट्ने भन्ने विषयमा उनले आन्तरिक छलफल गरिरहेको निकट स्रोतले जनाएको छ।
बालेन्द्र साहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाइ बहुमतसहित सुदृढ सरकार बनाउने तयारी गरिरहेको बताइएको छ। सरकारको आकार सानो बनाउने र विज्ञताका आधारमा मन्त्री नियुक्त गर्ने तयारीसमेत भइरहेको छ। हप्ता–दस दिनभित्रै नयाँ सरकार गठन गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ।
आज पनि बालेन्द्र साहले आन्तरिक छलफललाई निरन्तरता दिने जनाइएको छ। यही व्यस्तताका कारण उनी पार्टीद्वारा आयोजित सांसद अभिमुखीकरण कार्यक्रममा सहभागी हुन सकेका छैनन्। आज उक्त कार्यक्रम समापन हुँदैछ।
हिजो उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने र बालेन्द्र साह दुवै अनुपस्थित थिए। आज लामिछानेले समापन कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ, यद्यपि उनी पूर्ण रूपमा स्वस्थ भइसकेका छैनन्।
बालेन्द्र साहभने आज पनि कार्यक्रममा सहभागी नहुने तयारीमा रहेको स्रोतले जनाएको छ।
‘उहाँ सरकारमा जाने टोली निर्माणमा व्यस्त हुनुहुन्छ, अभिमुखीकरण कार्यक्रममा सायद जानुहुन्न,’ स्रोतले जनाएको छ।
सरकारका केही मन्त्रीबारे बालेन्द्र साहले सभापति रवि लामिछानेसँग प्रारम्भिक छलफल गरिसकेका छन्। साथै, आफ्नो टोलीभित्र पनि उनले नियमित रूपमा परामर्श गरिरहेको बताइएको छ।
प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार













प्रतिक्रिया